सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्नुहोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २२ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका संसदहरूलाई निर्देशन दिनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको बैठकमा उहाँले पार्टीको नीति एवं सरकारले गरेका कामबारे संसद्मा दरिलोरूपमा प्रस्तुत हुन निर्देशन दिनुभएको हो ।

“तपाईँहरू राम्रो तयारीका साथ संसदमा प्रस्तुत हुनुहोस् । सरकारका काम र पार्टीको नीतिअनुसार दर्बिलो भएर प्रस्तुत हुनुहोस्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र सम्बृद्धिको पक्षमा अधिकतम कोसिस गरिएको छ । सरकारले राम्रा काम गरेका छन् । यी विषयमा सदनमा आफ्ना विषय प्रस्तुत गर्नुहोस् ।”

आगामी आर्थिक वर्षमा परिणाम निस्किने गरी बजेट ल्याउने तयारी गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले तीन करोडभन्दा साना योजना हरू केन्द्रमा नराखी तल्लो तहमा पठाइने बताउनुभयो । उहाँले गठबन्धनको साझा दृष्टिकोण बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घीय लोकतन्त्र आफूहरूको सक्रियतामा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यो व्यवस्था हामीले ल्याएको हो । यसको रक्षा र सुदृढ गर्ने दायित्व पनि हाम्रो नै हो । त्यसैले व्यवस्था विरोधी मतका विरूद्ध र व्यवस्थाको पक्षमा वैचारिक रूपले प्रस्तुत हुनुपर्छ ।”

नीति तथा कार्यक्रम र बजेट निर्माणमा नयाँ पहल लिइएको जानकारी दिँदै उहाँले सांसद र जनताले समेत बहस गर्ने र उनीहरूको कुरा पनि समावेश हुने गरी नीति तथा कार्यक्रम र बजेट बनाउने गरी अगाडि बढिन्छ, तपाईँहरूले पनि महत्त्वपूर्ण सुझाव दिनुस् ।”

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक यही अधिवेशनबाट सहमतिमा पास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सकेसम्म सहमतिबाट टिआरसी विधेयक टुङ्ग्याउँदा सबैको हितमा हुन्छ । सोही प्रक्रियामा जानुपर्छ ।”