मधेश प्रदेश ज्ञान–विज्ञानको केन्द्र : प्रधानमन्त्री
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
१८ माघ, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
१८ माघ, २०८०
काठमाडौँ, १८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनिहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सङ्घीय संरचना अन्तर्गत मधेस प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।” ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षि जनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहर प्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।
विश्वविद्यालयको आवश्यकता र औचित्य बोध गर्दै नीति गत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । उहाँहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।”