सत्य निरूपण, अन्तर्राष्ट्रिय अनुभव र नेपाल
मानव सभ्यता, द्वन्द्व र मेलमिलाप
मानव सभ्यताको इतिहास नै द्वन्द्वमय छ । महाभारत, रामायण, जिसस क्राईष्ट, र मुस्लिम धर्म समेतका प्रसंगहरू यसबाट पृथक छैनन् । महाभारतमा दुर्योधनले जतिसुकै ज्यादती गर्दा पनि सहनशीलतालाई मन्त्र बनाई क्षमाशीलताको प्रयोग गर्न अर्जुनलाई कृष्णले सिकाएको र मानवतामाथि नै खतरा आउने स्थिति बनेपछि मात्र युद्धको बाटो रोजेको प्रसङ्ग निकै मननयोग्य छ । मानवियता र मानव सभ्यताको विकास, शान्ति र अमनचयनको बाटो प्रशस्त हुन्छ भने कतिपय अवस्थामा सहेर पनि गलत बाटोमा लागेकालाई सत्मार्गमा लाग्ने अवसर दिनु हरेक मानवको कर्तव्य हो ।
“आँखाको बदला आँखा”, “इट्टाको जवाफ पत्थरले दिने”, “कि तँ छैन कि म छैन” भन्ने मान्यता र व्यवहारको सट्टा रामराज्यको जस्तो न्याय, गौतम बुद्धको जस्तो बुद्धत्व, “सबै भन्दा ठूलो दान क्षमादान”, “तिमीले एक थप्पड गालामा हान्दा मन शान्त भएन, कृपया अर्को गालोमा पनि हान”, “प्रायश्चित भन्दा ठूलो दण्ड केही छैन”, “क्षमादानभन्दा ठूलो दान अरू हुँदैन” भन्ने अहिंसात्मक अभियान र गान्धिवादी र सत्यवादी राजा युधिष्ठिरको जस्तो व्यवहार अनुसरण गर्ने शान्तिवादी सामाजिक मनोविज्ञानको विकासबाट मात्र सत्य निरूपण तथा मेलमिलापजस्ता काम र प्रक्रियाले साकार रूप लिन सक्छन् । सायद यस्तै कारणले दक्षिण अफ्रिका र पूर्वी टिमोरमा त्यहाँका प्रमुख पादरीहरूलाई यस्तो संयन्त्रको नेतृत्व वा प्रमुखको जिम्मेवारी दिईएको थियो ।
आधुनिककालमा पनि पीडकबाट सत्यको स्वीकारोक्ति र पीडितबाट आममाफीका प्रशस्त उदाहरणहरू छन् । दोस्रो विश्वयुद्धका क्रममा नाजी जर्मनवाट पोल्याण्डमा मानवीय ज्यादती र युद्ध अपराधका घटनाहरू भएका थिए । सबैभन्दा बढी पोलिस नागरिकहरूको मृत्यु भएको थियो । दोस्रो विश्वयुद्ध समाप्त भएको करिव २५ वर्षपछि १९७० मा पश्चिम जर्मनका चान्सलर विलियम व्रान्टले आफ्नो औपचारिक पोल्याण्ड भ्रमणका क्रममा जनताहरूको भीडका अगाडि पटक पटक घुडा टेकेर माफी मागे । विश्वयुद्धकालिन ज्यादतीवापत माफी मागेर जर्मनले देखाएको कुटनीतिक मर्यादाका कारण मित्रताको नयाँ आयाम प्रारम्भ भएको चर्चित उदाहरण छ । एक देशले अर्को देशसँग त यस हदको माफी मागेर र दिएर सौहार्दता र मित्रता निर्माण गर्न सकिन्छ भने एउटै देशका नागरिक दाजुभाइबिचमा आन्तरिक द्वन्द्वका क्रममा भएका घटनाहरूका सन्दर्भमा सत्यको निरूपण गरिसकेपछि पीडित र पीडक आमनेसामने भई स्वीकारोक्ति र माफीको प्रक्रियाबाट मेलमिलाप कायम गर्न सकिन्न भन्ने हँुदैन । असल नियतसहितको राज्यको अविभावकत्वमा दुई पक्षलाई मेलमिलापको मार्गबाट सम्वोधन गर्न सकिन्छ ।
खासगरि पीडितहरूलाई विगतका पीडाहरू बिर्सनका लागि उत्प्रेरित गर्दै बाँचेकोहरूको भविष्य कसरी निर्माण गर्न सकिन्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्दछ । अतः विगतका घटनाले उत्पन्न गरेका पीडा र घृणाहरूलाई परित्याग गरी मानिसहरूको असल सम्बन्ध पुनस्र्थापित गर्न क्षमाशीलता, त्याग र उदारताको प्रयोग गर्नु सत्य निरुपण तथा मेलमिलाप प्रक्रिया÷अभियानको महत्वपूर्ण उद्देश्यभित्र पर्दछ । बदला, निरन्तरको रिसइबी, असहिष्णुता, आक्रमकता, सट्टाबाजी वा घृणलाई निरुत्साहित गर्ने मनोविज्ञान नै सत्य निरुपण र मेलमिलापको मान्यता हो ।
तर, गम्भीर प्रकृतिका आपराधिक घटनाका कारक व्यक्तिलाई उन्मुक्ति दिनुपर्दछ वा मानवीय मूल्यमान्यतालाई तिलाञ्जलि दिएर कोरा र मूर्दा शान्ति खोज्नुपर्छ भन्ने मनसाय यो आलेखको पटक्कै होइन । युद्धको बहाना बनाएर जो–कोहीबाट भएका बलात्कार, हत्या वा मानवताको विरूद्धका अपराधलाई सत्य निरूपण र मेलमिलापको परिधिभित्र समेटन सकिन्नँ र समेटनु हुन्न । यस्ता अपराधहरू कानुनको दायरा र नियमित अदालती कारवाहीमा समेटनुपर्दछ ।
सत्य निरूपण तथा मेलमिलाप
दोहोरो द्वन्द्व वा राज्यपक्षबाट एकतर्फी रूपमा भएका मानवअधिकार उलघंनका घटना र राज्यइतर संगठित संस्था वा समूहबाट भएका ज्यादती एवं व्यक्तिहरुबाट भएका अपराधिक कार्यहरूको छानविन गरी सत्यतथ्य पत्ता लगाउने र आवश्यकताअनुसार कार्वाहीको लागि सिफारिस गर्ने वा मेलमिलापको लागि पहल गर्ने सरोकारवालाहरूको सहमतिमा बनाइने गैह्रन्यायिक प्रकृतिको संयन्त्र वा आयोगले गर्ने कामलाई सत्यनिरूपण तथा मेलमिलाप भन्न सकिन्छ ।
यस्तो कार्यबाट कुनै पनि द्वन्द्वग्रस्त समाजलाई बुझ्ने र विवादित, दण्डहिन वा अस्वीकृत इतिहासलाई स्वीकार्न लगाउने, अपराधीलाई कारबाही गर्ने र भाबी दिनमा दण्डहिनताको अन्त गर्ने उद्देश्य पूरा गरिन्छ । यो राज्य, समाज र सम्बन्धित निकायहरूको संस्थागत तथा नीतिगत सुधारहरूका लागि विशिष्ट सिफारिसहरूमार्पmत भविष्यमा थप दुव्र्यवहार हुन नदिन नजिरहरू स्थापित गर्ने काम हो ।
तथ्याङ्क संकलन, प्रशोधन र प्रमाणीकरण, प्रमाणहरूको संकलन एवं प्रमाणिकरण, घटना सम्बन्धमा सार्वजनिक सुनवाइ, पीडित, पीडक तथा साक्षीहरूको वयानका आधारमा कुनै खास विषय र कुनै निश्चित अवधिका घटनाहरूको अन्वेषण गरेर गल्तीलाई आत्मवोध गरी प्रायश्चित्त गर्न लगाउने र नियतवश नभई युद्धरत परिस्थितिको कारण पीडामा परेका पीडितलाई राहत र सम्मानको वातावरण बनाउने काम हो ।
त्यसको लागि नियमित प्रकारका अदालती कारवाहीको सट्टा आवश्यक परिस्थितिको मूल्यांकन गरी राज्य र शान्ति निर्माणका प्रतिवद्धता कार्यान्वयन गर्ने अल्पकालिन मिसन वा विषेश एकाइले पूर्वाग्रहमुक्त भई गर्ने सिफारिसबाट शान्तिपूर्ण समाज निर्माणमा थप योगदान पुग्न सकोस् र पीडाका घाउहरूमा मलमपट्टि लगाउन सकियोस् र पीडितले न्याय र पीडकसमेतले प्रायश्चित्तको अवसर प्राप्त गरून् र शान्ति प्राप्ति, द्वन्द्वको न्यूनिकरण र दण्डहिनताको अन्त गरी सहज गतिमा राज्य र समाजलाई डो¥याउने काम सत्य निरूपण र मेलमिलाप हो ।
मूलतः यस प्रक्रियाबाट समस्या थप जटिल हुनबाट रोक्ने र मेलमिलाप, सद्भाव तथा मित्रताको हात फैलाउँदै समाजिक सहअस्तित्वमा जोड दिँदै द्वन्द्वोत्तर राष्ट्रमा दीगो शान्ति तथा मेलमिलापको बाटो खुलाउन सहायता पुग्ने हेतुले सत्य निरुपण र मेलमिलापको काम गरिन्छ ।
समाजका गतिविधिहरू सहज गतिमा चलिरहेको समयमा वास्तविक दोषीलाई मुद्दा चलाएर नियमित अदालतबाट दोषी प्रमाणित गर्न सहज हुन्छ । तर द्वन्द्वकालमा र द्वन्द्वोतर समाजमा राजनीतिक गतिबिधि र अपराधिक गतिविधि छुट्टाउन निकै जटिलता हुने कारणबाट सत्य निरूपण र मेलमिलापको अभ्यास सुरू भएको पाइन्छ । अदालतभन्दा पृथक र फरक कार्यादेशसहित बन्ने आयोग वा संयन्त्रले मात्र यस प्रकारको कार्य सम्पादन गर्न सक्छ भन्ने अन्तर्राष्ट्रिय अनुभवहरूले प्रमाणित गरेका छन् । त्यसैले द्वन्द्वोत्तर समाजमा सत्यको निरूपण गरेर मेलमिलाप र परिपुरणमार्फत् पीडकलाई प्रायश्चित्त वा माफी माग्न लगाउने र पीडितलाई राहत उपलब्ध गर्ने गरी नियमित अदालती मुद्दा चलाउने प्रक्रियाभन्दा फरक तरिकाले मेलमिलापलाई बढावा दिनु नै सत्य निरूपण र मेलमिलाप गर्नु हो । यसबाट एकातिर सत्य कुराको स्थापना हुन जान्छ र मानिसको चित्त बुझ्यो भने भविष्यमा घटनाहरू दोहोरिन नपाउने मान्यता वा विधिलाई अङ्गीकार गर्दछ भने अर्कोतिर यो पुनस्र्थापकीय न्यायको महत्वपूर्ण आधारशिला र शान्तिको लागि महत्वपूर्ण पहलकै अभिन्न पाटोको रूपमा चिनिने र शान्तिको सामाजिक अस्तित्वको प्रतीक पनि मानिन्छ ।
यसले पीडितहरूलाई गौरव र परिपूरणका विभिन्न प्रक्रियाबाट राहत उपलब्ध गराउछ । सबैभन्दा ठूलो कुरा त मनोविज्ञानमा परिवर्तन ल्याई स्थायी शान्तितर्फ मानिसहरूलाई डो¥याउँछ जसबाट पीडितले न्याय प्राप्त गरेको र पीडकले पनि आफूबाट भएको गल्तीको महसुुस गर्दै पापबाट मुक्तिको अनुभूति प्राप्त गर्दछन् र यी कार्यबाट अन्ततः शान्ति स्थापनामा र मेलमिलापमा योगदान पुग्दछ ।
द्वन्द्वको क्रममा भएका र राज्य तथा सशस्त्र द्वन्द्वरत पक्षबाट आ–आफ्नै दावी र भाष्य निर्माणसहित प्रकाशित एवं प्रसारित बिभिन्न घटनामा निहित सत्यको अन्वेषण, निरूपण गरेर राज्यको अभिभावकत्वमा हुने मेलमिलाप प्रक्रियाबाट विगतमा भएका पीडाहरूको स्वीकारोक्तिद्वारा पीडक र पीडितले पारस्परिक सद्भावको आधारमा विभत्स इतिहासलाई बिर्सने कोसिस गर्छन् भन्ने मान्यता सत्य निरूपण र मेलमिलाप निर्माणको सैद्धान्तिक जग हो । यसमा विचार र व्यवहारलाई सिर्जनात्मक सम्बन्धमा परिणत गरी दीगो शान्ति स्थापना गर्ने उद्देश्य लिइएको हुन्छ । सत्य अन्वेषण पश्चातको मेलमिलाप प्रक्रियामा न्याय, मान्यता र मुक्तिजस्ता तत्वहरू समावेश हुने भएकाले शान्तिका लागि क्षमाशीलताको समेत अपेक्षा गरिनु सान्दर्भिक हुन्छ । केही हदसम्म यो विधिले आध्यात्मिकतासँग पनि जोड दिनुपर्दछ ।
अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभव
अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा विगतमा भएका मानव अधिकारको उल्लंघनका घटनाहरूलाई प्रायः दुई चरणमा सम्वोधन गर्ने प्रचलन रहेको पाइन्छ । प्रथमतः यस्ता घटनाहरूलाई तत्कालै सम्बोधन गरी संक्रमणकाललाई व्यवस्थित गर्न खोजिन्छ भने अर्काेतिर विभिन्न कारणवश संक्रमणकालमा सम्वोधन गर्न सकिएन भने स्थायी आयोग वा विशेष न्यायिक निकायको स्थापना गरी सम्वोधन गर्ने गरिन्छ । तर, यो प्रक्रियामा सबै देशमा एकै प्रकारबाट संयन्त्रहरूको निर्माण हुन्छ भन्ने छैन, कति अवस्थामा स्थानीय वा मौलिक प्रक्रियाहरूबाट पनि सम्बोधन गर्ने गरिएको पाइन्छ ।
सत्य निरुपण तथा मेलमिलापका सन्दर्भमा दक्षिण अफ्रिकाको शान्ति प्रक्रियालाई उदाहरणका रूपमा लिन सक्छौं । अफ्रिकामा ३० वर्षभन्दा बढीको रंगभेद शासनको सन् १९९१ मा अन्त्य भएपछि अफ्रिकी नेसनल कांग्रेसका नेता नेलशन मण्डेला देशको प्रथम कालाजातबाट राष्ट्रपति भएपछि त्यहाँ पनि रंगभेद शासन सञ्चालन गरेका गोरा शासकहरूको विरूद्धमा कानुनी कारवाही चलाउने कुरा व्यापक मात्रामा भएको थियो । तर यसैबीचमा अफ्रिकी नेशनल कांग्रेसले सन् १९९२ र १९९३ मा दुईपटक समग्र रंगभेद शासनकालमा भएका मानव अधिकारको उल्लघंनका घटनाहरूमा को–कति दोषी छन् भनी अनुसन्धान गरायो, जसमा गोरा जातिका मानिसहरू ८५ प्रतिशतको हाराहारीमा दोषी हुने देखिएपछि अफ्रिकी नेशनल कां्रगे्रेसले औपचारिक न्यायलयबाट त्यस अवधिमा भएका घटनाहरूमा कारवाहीको सट्टामा सत्य निरूपण तथा मेलमिलापको अवधारणा अघि बढायो जुन कालान्तरमा शान्ति स्थापना तथा मेलमिलापको लागि विश्वमा मोडेलको रूपमा चर्चामा छ ।
यो मोडलको अनुशरण गर्ने ध्येयले नेपालमा पनि यस्तै प्रकृतिको आयोगको परिकल्पना बिस्तृत शान्ति सम्झौता, अन्तरिम संविधानमा गरियो । शान्ति प्रक्रियाको पूर्णता दिने सन्दर्भमा सत्य निरूपण तथा मेलमिलाप आयोग, नेपालको भूमिका अझै सम्पन्न हुन सकेको छैन । यो चिन्ताको विषय हो ।
नेपालको सन्र्दभमा संक्रमणकाल र त्यस क्रममा पनि सम्वोधन हुन नसकेका दुबै प्रक्रियालाई अपनाउन खोजिएको देखिन्छ । दशवर्षे द्वन्द्वमा भएका मानव अधिकारको उल्लंघनहरूलाई सम्बोधन गर्नका लागि २०६३ सालमा द्वन्द्वरत पक्षहरूको बिचमा भएको विस्तृत शान्ति सम्झौतालाई आधारमा राखेर हेर्नुबाहेक नेपालसँग अर्को विकल्प छैन । शान्ति सम्झौतामा उल्लेख भएबमोजीम दुबै पक्ष विगतमा भए गरेका त्रुटिहरूलाई भविष्यमा नदोहो¥याउने र क्रमिक रूपमा सच्चाउँदै लैजाने गरी वैयक्तिक एवं सामूहिक रूपमा उत्तरदायी हुने कुराहरू उल्लेख भएका छन् । बेपत्ता पारिएकाहरूको अवस्था पत्ता लगाउनका लागिसमेत आयोगको गठन भएको र थुप्रै तथ्य, तथ्याङ्क र प्रमाणहरू संकलन गरिसकिएको अवस्था छ । सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लंघन गर्ने तथा मानवताविरूद्धको अपराधमा संलग्न व्यक्तिहरूको बारेमा सत्य अन्वेषण गर्न तथा समाजमा मेलमिलापको वातावरण निर्माण गर्न उच्चस्तरीय सत्य निरूपण तथा मेलमिलाम आयोगको गठन भएको लामो समय भइसक्दा पनि समस्या सम्वोधनमा राजनीतिक मतऐक्यता बन्न नसक्नु दुःखको कुरा हो ।
शान्ति प्रक्रियाकै माध्यमबाट बनेको राष्ट्रिय सहमतिका आधारमा दुईपटकसम्म संविधान सभाको निर्वाचन सम्पन्न भई नेपालको संविधान २०७२ जारी भइसकेपछि पनि दोस्रो आम निर्वाचनसमेत सम्पन्न भएर वर्तमान सरकार निर्माण भएको अवस्था छ । विस्तृत शान्ति सम्झौताका निर्माणकर्ता मुख्य राजनीतिक दलहरुकै संलग्नतामा सरकार बनेको छ । शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरूमध्येका एक जना मात्र जीवित व्यक्तित्व एवं तत्कालिन नेकपा माओवादीका अध्यक्ष अहिले नेपालको सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ ।
संसदमा उपस्थित दलहरू र माननीय सदस्यहरूको करिव शतप्रतिशतले विश्वासको मत दिएर अभूतपूर्व राष्ट्रिय एकताका प्रतीक बन्नुभएका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको सत्यतथ्य सार्वजनीक गर्ने काम सम्पन्न हुनुपर्दछ ।
माथि उल्लेख गरिएझैं दोस्रो विश्वयुद्धको २५ वर्षपछि आएर जर्मनले मागेको माफी र पोल्याण्डले प्रदर्शन गरेको स्वीकारोक्तिले ती देशका बिचमा पैदा भएको मित्रताबाट नेपालको आन्तरिक द्वन्द्व व्यवस्थापनले पनि शिक्षा लिन सकिन्न र ? नेपालको राजनीतिक पार्टीहरू जसले आफ्नो पार्टीको दायराभन्दा माथि उठेर राष्ट्रिय एकताका पक्षमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन्, ती सबै दलहरुले शान्ति प्रक्रियाका बाँकी कामहरू सम्पन्न गर्न पनि साथ दिनुपर्दछ । यस मुद्धालाई उच्च प्राथमिकतामा राखेर सम्वोधन गर्नैपर्दछ ।
अन्तमा, रङ्गभेद आन्दोलनका क्रममा विद्रोही रहेका विद्रोह नायक नेल्सन मण्डेलापछि गएर दक्षिण अफ्रिकाको राष्ट्रपति मात्रै होइन विश्वको शान्ति नोवल पुरस्कार विजेतासमेत बनेको इतिहास छ । नेपालकाको आन्तरिक सशस्त्र द्वन्द्ध र त्यसको शान्तिपूर्ण व्यवस्थापन पनि एउटा असाधारण उपलब्धि हो । यसलाई विश्वका बहुपक्षीयय टेवलहरूमा नमुनाका रूपमा पेश गर्ने र बहस गर्ने काम आवश्यक छ । सानो शक्ति नेपालले आन्तरिक द्वन्द्ध व्यवस्थापनमा प्राप्त गरेको अद्धितीय उपलब्धि नोवल शान्ति पुरस्कार प्राप्ति समेतको हैसियतको छ । त्यस प्रक्रियाको मुख्य नेतृत्वकर्ता हुनुको नाताले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू सम्पन्न गर्नु प्रधानमन्त्रीको दायित्व हो । यसमा देश नेपाल, समकालिन राजनीतिक नेतृत्व र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सफलता मिलोस् शुभकामना । धन्यवाद ।