समाजवादी क्रान्ति र हाम्रो कार्यभार प्रचण्ड:प्रधानमन्त्री एवं अध्यक्ष
नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि नै नेपाली समाजका दुई विशाल पहाड सामन्तवाद र साम्राज्यवादको अन्त्य गरी जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने लक्ष्य लिइएको थियो । सशस्त्र र शान्तिपूर्ण, वैधानिक र अवैधानिक, खुला र भूमिगत विद्रोह र आन्दोलनको परिणामतः नेपाल जनवादी क्रान्तिको मूल कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारीको चरणमा प्रवेश गरेको छ ।
हाम्रो पार्टीको २०७९ पुस ११–१८ मा सम्पन्न ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनले २१औँ शताब्दीको भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको विश्लेषणसहित समाजवादी क्रान्तिको मौलिक कार्यदिशा संश्लेषण गरेको छ । ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ दस्तावेजमा नेपाली समाजवादी क्रान्तिको वस्तुगत र आत्मगत आधार, समाजवादको तयारीका निम्ति कम्युनिस्ट क्रान्तिकारीको कार्यभार र आगामी बाटोबारे महत्वपूर्ण संश्लेषण गरिएको छ । समाजवादी क्रान्तिको कार्यदिशामा पूर्णताको अर्थमा नभएर प्रारम्भिक गोरेटोका रूपमा संश्लेषित उक्त निष्कर्षलाई आगामी विशेष राष्ट्रिय महाधिवेशनबाट थप परिस्कृत र मूर्तिकृत गर्ने सङ्कल्प गरिएकाले आठौँ महाधिवेशनको संश्लेषणले नयाँ उचाइबाट बहसको माग गर्दछ ।
हरेक राजनीतिक क्रान्तिको सफलता र असफलताको अन्तर्यमा विचारधारात्मक राजनीतिक कार्यदिशाको सर्वोपरि भूमिका रहन्छ । सही विचारधारा र कार्यदिशाको जगमा नै हरेक देशको कम्युनिस्ट आन्दोलनले चुनौतीलाई अवसरमा बदल्ने सामथ्र्य राख्छ । तसर्थ, निरन्तर विचारको विकासको प्रक्रियाबाट नै कम्युनिस्ट आन्दोलनका विद्यमान चुनौतीलाई छिचोल्न सक्छौँ र समाजवादको आधार तयार पार्न सक्छौँ भन्ने यथार्थमा सिङ्गो पार्टीको एकमत बुझाइ आवश्यक छ ।
आजको विश्व परिस्थिति माक्र्स–एंगेल्स, लेनिन–स्टालिन, माओत्सेतुङ तथा १९औँ र २०औँ शताब्दीमा विश्वका विभिन्न मुलुकमा सम्पन्न भएका क्रान्तिको वस्तुगत धरातल भन्दा भिन्न रूपमा विकास भएको छ । मुनाफाको लालसासहित अगाडि बढेको औद्योगिक पुँजीवाद आफ्नो विकासका अनगिन्ती घुम्ती र मोड पार गर्दै साम्राज्यवाद, भूमण्डलीकृत साम्राज्यवाद, वित्तीय एकाधिकार पुँजीवाद हुँदै भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको चरणसम्म आइपुगेको छ । यो यही रोकिनेवाला पनि छैन । तसर्थ, पुँजीवादको विकासको परिदृश्यमा कम्युनिस्ट एवं समाजवादी शक्तिले समेत विश्व परिस्थितिमा आएको हेरफेर, उत्पादन पद्धतिको चरित्रमा आएको परिवर्तन, भूराजनीतिक अवस्थिति र सन्तुलन, विज्ञान–प्रविधिको बहुआयमिक विकासले उत्पादन सम्बन्ध, सामाजिक संरचना, वर्गचरित्र, वर्गसङ्घर्षमा आएको परिवर्तन, राजनीतिक परिस्थिति र शक्ति सन्तुलन एवं समाजवादको लक्ष्यजस्ता पक्षलाई विचार गरेर आफ्नै देशको मौलिकता र विशिष्टतासहितको राजनीतिक कार्यदिशाको छनोट गर्नु आजको अनिवार्य आवश्यकता हो ।
जतिबेलै माक्र्स–एंगेल्स कम्युनिस्ट घोषणापत्र लेख्दै हुनुहुन्थ्यो, त्यति बेलाको विश्व परिस्थिति भर्खर सामन्तवादको अन्त्य र पूँजीवादको प्रारम्भिक विकासको अवधि थियो । तत्कालीन परिस्थितिमा माक्र्स–एंगेल्सले सामन्तवादभन्दा औद्योगिक पूँजीवाद प्रगतिशील भएको निष्कर्ष निकाल्दै तर पुँजीवादी व्यवस्था मुनाफाको असीमित लालसामा केन्द्रित भएकाले त्यसको पतन अनिवार्य भएको संश्लेषण गर्नुभएको थियो । त्यही प्रस्तावनामा टेकेर मूख्यतः युरोप र अन्य विकसित मुलुकमा मजदुर आन्दोलन सङ्गठित मात्र भएनन्, समाजवादको बहसले पनि तीव्रता लिँदै गयो । पहिलो र दोस्रो अन्तर्राष्ट्रियमा चलेको बहसले समाजवादी धारा र संशोधनवादी धाराबीच स्पष्ट मार्गचित्र कोर्न र वैज्ञानिक समाजवादको व्यवस्थित मार्गचित्र विकासका निम्ति ऐतिहासिक योगदान ग¥यो ।
औद्योगिक उत्पादनमा केन्द्रित रहेकाले अतिरिक्त मूल्यको शोषण र विभेदकारी व्यवस्था हुँदाहुँदै पनि उत्पादनशील चरित्रको भएको कारण पूँजीवाद एक हद सम्म प्रगतिशील नै थियो । तर, मुनाफाको होडमा अधिक उत्पादनको लालसाले पुँजीवाद राष्ट्रिय सीमा नाघेर विश्वव्यायीकरणको दिशामा अग्रसर रह्यो । त्यसले पूँजीवादको प्रगतिशील चरित्रमा ह्रास मात्र आएन, अपितु राष्ट्रिय शोषणको चरित्रमा अन्तर्राष्ट्रियकरण पनि हुँदै गयो । २० औँ शताब्दीको प्रारम्भसम्म आइपुग्दा औद्योगिक पूँजीवाद भूमण्डलीकृत साम्राज्यवादमा परिणत हुँदै गयो । त्यही विश्लेषणका आधारमा लेनिनले अन्तर साम्राज्यवादी अन्तरविरोधका बीच राजनीतिक, आर्थिक दृष्टिले पिछडिएको एउटा मुलुकमा पनि समाजवाद सम्भव छ भन्ने तथ्य सैद्धान्तिक रूपमा मात्रै अगाडि सार्नुभएन, सन् १९१७ मा महान् समाजवादी अक्टोबर क्रान्तिमार्फत आफ्नो सैद्धान्तिक प्रस्तावनाको व्यवहारिक औचित्यसमेत प्रमाणित गर्नुभयो । सशस्त्र विद्रोहको कार्यदिशामा आधारित रुसी समाजवादी क्रान्ति विश्व क्रान्तिको नयाँ मोडेलका रूपमा समेत स्थापित रह्यो ।
पहिलो विश्वयुद्धको समाप्तिपछि दार्शनिक, सैद्धान्तिक र भौतिक शक्तिका दृष्टिले समाजवादी धारा बलशाली बन्दै गयो । त्यही पृष्ठभूमिमा स्थापित चिनियाँ कम्युनिस्ट पार्टीले औद्योगिक पूँजीवादको विकास नभइसकेको अर्धसामन्ती र अर्ध औपनिवेशिक चरित्र भएको मुलुकमा गाउँले शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालीन जनयुद्धको माध्यमबाट क्रान्ति सम्पन्न गर्न सकिने निष्कर्ष अगाडि सार्यो । बीसौं शताब्दीको तेस्रो दशकदेखि सुरू भएको विश्व आर्थिक मन्दीको समेत पृष्ठभूमिमा पुँजीवादी शक्तिहरूले सङ्कट मोचनको नयाँ सूत्र अगाडि सारे, जसले भूमण्डलीकृत साम्राज्यवादलाई वित्तीय साम्राज्यवादमा रूपान्तरित ग¥यो । कमरेड माओ त्सेतुङको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादको गठजोड रहेको तेस्रो मुलुकमा मजदुर–किसानको एकतामा आधारित दीर्घकालीन जनयुद्धको बाटोबाट क्रान्ति सम्पन्न गर्ने कार्यदिशा संश्लेषण गरियो । सन् १९४९ मा सम्पन्न चिनियाँ नयाँ जनवादी क्रान्ति त्यसैको उत्कर्ष थियो ।
बीसौँ शताब्दीले महान् क्रान्ति र भयानक प्रतिक्रान्तिको सामना गर्नुप¥यो । सोभियत सङ्घको विघटनपछि पुँजीवादी शक्तिहरू बहु ध्रुवीय विश्वको अन्त्य र पुँजीवादी ध्रुव निर्विकल्प भएको निष्कर्षमा मात्र पुगेनन्, त्यही निष्कर्षमा आधारित भएर एकल विश्व व्यवस्थाको प्रयास अगाडि बढाउने कोशिससमेत गरे । तर, २१ औँ शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा विश्वव्यवस्थामा गुणात्मक हेरफेर भएको छ । पुँजीवादी विश्लेषकहरू नै एकल ध्रुवीय विश्व व्यवस्था असम्भव रहेको निष्कर्षमा मात्र पुगेका छैनन्, अपितु बहुध्रुवीय विश्वले नै पुँजीवादी अति उत्पादन र हिंसाका कारण पर्यावरण र विश्व मानव जातिको नै भविष्यमाथि परेको सङ्कटमा समाधान दिनसक्ने बताइरहेका छन् ।
गत कार्तिकमा संयुक्त राष्ट्रसङ्घका महासचिव अन्तरियो गुटेरेसले आफ्नो नेपाल भ्रमणका क्रममा विकसित मुलुकहरूको औद्योगिक उत्पादन र विश्वव्यापी द्वन्द्वका कारण नेपाल लगायत हिमालय देशहरूले भयानक प्राकृतिक प्रकोपहरूको सामना गर्नु परेकोमा जोड दिँदै नेपालको सङ्घीय संसदलाई सम्बोधन गर्दै एक ध्रुवीय विश्व समाधान नभई सङ्कटको कारक भएकाले बहुध्रुवीय विश्वको अनिवार्यतामाथि आफ्नो गहन विचार प्रस्तुत गरेका थिए । उल्लेखित सन्दर्भले समेत २० औँ शताब्दीको विश्व व्यवस्था र वर्तमान परिस्थिति र शक्ति सन्तुलनमा गुणात्मक परिवर्तन आएको तथ्य प्रमाणित हुन्छ ।
नेपाली जनताको सात दशक लामो सङ्घर्ष र बलिदानपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । क्रान्तिका उपलब्धिको संश्लेषण सहित २०७२ सालमा जारी संविधानले समाजवाद उन्मुख राज्य निर्माणको परिकल्पना मात्र गरेको छैन, अपितु समाजवादको आधार निर्माणमा केन्द्रित रहेर आम जनताका सरोकारका विषयलाई मौलिक हकका रूपमा परिभाषित गर्दै समाजवाद निर्माणको ढोका खोलिदिएको छ । यहाँ प्रश्न संविधानतः प्राप्त अधिकार प्रतिको समान बुझाइ, कार्यान्वयनको तत्परता र प्रगतिशील विशेषतासहित रूपान्तरणको हो । यसका निम्ति कम्युनिस्ट एवं वामपन्थी शक्तिले एकताबद्ध पहल लिनुपर्ने हुन्छ । यस सन्दर्भमा हाम्रो पार्टी साम्राज्यवाद विरोधी शक्तिविरुद्ध वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य र वामपन्थी शक्तिबीचको एकतामा निरन्तर जोड दिँदै आएको प्रस्ट नै छ ।
महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको बलमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्त गरेका छौं । परिवर्तन कारी सङ्घर्षकै बलमा गणतन्त्र, सङ्घीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय स्थापित भएको छ र समाजवाद उन्मुख राज्य निर्माणको सङ्कल्प संविधानको प्रस्तावनामा नै लेखिएको छ । यो सामान्य विषय होइन ।
यद्यपि, राजनीतिक व्यवस्थामा आएको गुणात्मक परिवर्तन अनुरूप जनताको जीवनमा परिवर्तन ल्याउने कार्यभारका निम्ति अझै ठूलो मेहेनत र सङ्घर्ष गर्नुपर्ने स्थिति हाम्रोसामु छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानले परिकल्पना गरेअनुरूपका सङ्घीय कानुन निर्माण गरी परिवर्तनलाई संस्थागत गर्ने प्रक्रिया पूर्ण भइसकेको छैन । यही सङ्क्रमणकालको फाइदा उठाएर देशलाई फेरि प्रतिगामी दिशामा धकेल्न पुनर्उत्थानवादी शक्ति विभिन्न ढङ्गले चलखेल गर्न खोज्दैछन् । तसर्थ, संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् परिवर्तनका मुद्दा संस्थागत र सुदृढ गर्नुपर्ने कार्यभारलाई हामीले गम्भीरतापूर्वक लिनुपर्दछ ।
हाम्रो संविधानका मूलतः तीन खम्बा छन्, एक, गणतन्त्र, दुई, सङ्घीयता र तीन, धर्मनिरपेक्षता । यी तीन खम्बामध्ये कुनै एकमाथि प्रहार हुँदा त्यसको प्रभाव सिङ्गो व्यवस्थामाथि नै पर्न जान्छ । तसर्थ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनै पनि प्रकारका षड्यन्त्र परिवर्तनकारी शक्तिका निम्ति मान्य हुँदैनन् । यसमा हामी सबै चनाखो हुनै पर्दछ । यिनै प्राप्त उपलब्धिमा टेकेर संविधानको प्रगतिशील कार्यान्वयनमा जोड दिँदा अगाडि बढेर मात्र समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा समेत हाम्रो समान बुझाइ आवश्यक छ ।
‘ठोस परिस्थितिको ठोस विश्लेषण’ माक्र्सवादको सबैभन्दा ठूलो प्रस्तावना र पुँजी हो । माक्र्सवाद मानव जातिमाथि हुने सबै प्रकारका शोषण, विभेद र उत्पीडनका विरूद्धको दर्शन हो, चाहे वर्गीय होस्, जातीय होस्, क्षेत्रीय होस् वा अन्य कुनै पनि प्रकारको उत्पीडन । माक्र्सवादले ती सबै उत्पीडनको विरोध र मानव मुक्तिको वकालत गर्दछ । तसर्थ, कुनै पनि देशको ठोस परिस्थितिका आधारमा कम्युनिस्ट पार्टी र परिवर्तनकारी शक्तिले लिने नीति र राजनीतिक कार्यदिशा पनि सम्बन्धित देश, काल वा परिस्थितिमा निर्भर रहन्छ । नेपालको सन्दर्भमा हाम्रो उत्पीडनको स्वरूप वर्गीय मात्र होइन, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक उत्पीडन पनि छ । यस्तो मुलुकमा कुनै पनि कम्युनिस्ट पार्टीले वर्गीय मुद्दाका साथै जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक मुक्तिको प्रश्नलाई सँगसँगै उठाउँछ र उठाउनु पर्दछ । यो नै साँचो अर्थमा मार्क्सवादको सही बुझाइ र सही प्रयोग पनि हो । तसर्थ, यो दार्शनिक एवं सैद्धान्तिक मान्यतामा सिङ्गो पार्टी र सम्पूर्ण परिवर्तन कारी शक्ति एकीकृत हुनै पर्दछ ।
हाम्रो पार्टी विधान सम्मेलन हुँदै विशेष राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा छ, जहाँ विचार, राजनीति, कार्यदिशा र संगठनमा केन्द्रित रहेर २१औँ शताब्दीको कम्युनिस्ट पार्टी र समाजवादी कार्यदिशा केन्द्रित बहस हुनेछ । उक्त बहसले कार्यदिशाको बुझाइमा रहेको अस्पष्टता, त्यसको थप व्याख्या र परिमार्जनसहितको विकास प्रक्रियामा गुणात्मक योगदान पु¥याउने हाम्रो विश्वास छ । विशेष महाधिवेशनलाई केन्द्रमा राखेर अगाडि बढाइएको यस प्रकृतिको छलफलले हजारौं टाउकाको केन्द्रीकरणभित्र नै सही विचार र कार्यदिशाको भविष्य अन्तर्निहित रहन्छ भन्ने तथ्यलाई फेरि एकपटक प्रमाणित गर्नेछ ।
महान् जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा हाम्रो पार्टी ऐतिहासिक प्रथम विधान सम्मेलनमा जुटिरहेको छ । प्रथम विधान सम्मेलनका केही महत्वपूर्ण कार्यभार छन् । विगत ३० वर्षदेखि विचार र नीतिका दृष्टिले सिङ्गो देश हाम्रो वरिपरि संकेन्द्रित छ । तर, जनमत र सङ्गठनात्मक जीवनका दृष्टिले माओवादी आन्दोलनले क्षयीकरणको सामना गर्नु परिरह्यो । हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएयता सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गरिएका कामकारबाही पार्टी पुनर्निर्माणका निम्ति महत्वपूर्ण आधार तयार पारेको छ । गत भदौदेखि पुससम्म सञ्चालित ‘जनतासँग माओवादी ः विशेष रूपान्तरण अभियान’ ले पार्टी पुनर्निर्माणको सङ्गठनात्मक जग बसालेको छ । यही धरातलमा उभिएर पार्टीलाई विधि र पद्धतिका आधारमा सञ्चालन गर्दै
क्रान्तिकारी शक्तिलाई सङ्गठित र एकताबद्ध गर्ने कार्यभार प्रथम विधान अधिवेशन सामु छ ।
वैज्ञानिक र व्यवस्थित पार्टीले मात्र आफूलाई आत्मगत रूपमा सङ्गठित र सुदृढ गर्दै विद्यमान राजनीतिक चुनौतीलाई सम्भावनामा रूपान्तरण गर्न सक्छ । यसका निम्ति पार्टीको सङ्गठनात्मक जीवनमा देखापरेको अकर्मण्यता, अराजकता, विधिहीनताको स्थिति अन्त्य गर्दै व्यवस्थित पार्टी निर्माणमा अग्रसर हुनुपर्दछ । विधान अधिवेशनमा सम्पूर्ण कमरेडहरू व्यवस्थित पार्टी निर्माणको ध्येयलाई केन्द्रमा राखेर उद्देश्यमूलक बहसमा केन्द्रित हुन आवश्यक छ । यसबाट मात्रै अधिवेशनको निर्दिष्ट कार्यभार पूरा गर्न सकिन्छ ।
नेपाली समाजको रूपान्तरणका निम्ति सञ्चालित महान् जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको विधान अधिवेशनले पार्टीको सङ्गठनात्मक जीवनलाई व्यवस्थित र सुदृढ तुल्याउँदै समाजवादी क्रान्तिको व्यवस्थित तयारी गर्ने विशेष महाधिवेशनको तयारीका निम्ति महत्वपूर्ण आधार खडा गर्नु पर्दछ । मेरो गहिरो विश्वास छ– प्रथम विधान अधिवेशनले उल्लेखित कार्यभार पूरा गर्दै कम्युनिस्ट आन्दोलन र सिङ्गो राष्ट्रको नेतृत्व गर्ने विचार, पार्टी, नीति र नेतृत्व निर्माणमा ऐतिहासिक योगदान गर्नेछ ।