संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

समाजवाद अर्थात्  सबैका लागि समृद्धि - अग्नि सापकोटा

नेपालको संविधानमा समाजवादको उल्लेख भए पनि त्यसको व्याख्या भएको छैन । हाम्रो पार्टीले ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनबाट ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ नामक प्रतिवेदनमा समाजवादसम्बन्धी सिद्धान्त, दृष्टिकोण, रणनीति र कार्यनीतिबारे दिशानिर्देश गरेको छ । पार्टीले वैज्ञानिक समाजवादको मूल्यमान्यतामा आधारित रहेर समाजवादको निर्माणमा जोड दिएको छ । यसअघि अभ्यास गरिएका समाजवादका सवल र दुर्बल पक्षबाट शिक्षा लिएर नयाँ मोडलको समाजवादको आधार तयार गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पार्टीको काँधमा आएको छ । त्यो लक्ष्य हासिल गर्न पार्टी वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा केन्द्रित भइरहनुपर्छ । समाजलाई एकताबद्ध गर्दै उत्पीडित वर्ग र जनसमुदायका अधिकार प्राप्तिका लागि निरन्तर सङ्घर्षरत हुनु पर्छ ।
हामीले परिकल्पना गरको त्यस्तो समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने सवल र सुदृढ राजनीतिक शक्ति आजको आवश्यकता हो । नेपालका सबै वामपन्थी शक्तिबीच एकता हुन सक्यो भने समाजवाद तर्फको यात्रा तय गर्न वस्तुगत आधार बन्न जान्छ । त्यसकारण पनि वामपन्थी शक्तिबीचको एकीकरण र पुनर्गठनको नेतृत्व हाम्रै पार्टीले गर्नु पर्दछ । यसका लागि नयाँ वैचारिक विकासको आवश्यकता छ । पार्टीको विधान सम्मेलनलगत्तै वैचारिक बहसको योजनाबद्ध प्रक्रिया आरम्भ गर्नु पर्दछ । 
तत्कालका लागि निम्न चार पुनर्गठनको आवश्यकता देखिएको छ ।  
वैचारिक पुनर्गठन  
हामीले अङ्गीकार गर्ने समाजवादको मोडल कस्तो हुन्छ, त्यस्तो समाजवाद निर्माण गर्ने उपाय के के हुन्, जस्ता प्रश्नको जवाफ खोज्नु आजको मुख्य कार्यभार हो । यी प्रश्नको उत्तर खोजिरहँदा स्वयम् पार्टी सङ्गठनलाई समाजवाद प्राप्तिका लागि मुख्य औजारका रुपमा विकास गर्नुपर्ने दायित्व पनि हामीसँग छ । समाजवादी क्रान्तिको नेतृत्व गर्ने पार्टी कसरी निर्माण गर्ने भन्ने प्रश्नको उत्तर दिँदै समाजवादी विचारधाराको विकास गर्नु आजको मुख्य कार्यभार हो । 
एकाधिकार दलाल तथा नोकरशाही पूँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास हाम्रो तात्कालिक कार्यनीति हुनुपर्छ । पर्ख र हेरको रणनीतिले कहीँ पुगिँदैन । अरूको नक्कल गरेर पनि सफलता प्राप्त नहुन सक्छ । नेपालमा दलाल पूँजीवादका गम्भीर नकारात्मक असर देखिइरहेका छन् । दलाल पुँजीपतिको असीमित प्रतिस्पर्धाले बर्वादी निम्त्याउँदै छ । यसले मानिसको सामाजिक चेतनालाई क्षत–विक्षत बनाउँदै छ । यो दुष्टताबाट हाम्रो शिक्षा र स्वास्थ्य प्रणाली ग्रस्त छ । विद्यार्थीमा एक खालको अतिरञ्जित प्रतिस्पर्धा बढिरहेको छ । 
समाजवादी अर्थतन्त्रको स्थापना विद्यमान यस्ता खराबी, विसङ्गति र विकृतिलाई हटाउने एउटै मुख्य उपाय हो । समाजवाद स्थापना गर्ने लक्ष्यतर्फ उन्मुख शिक्षा प्रणालीको विकास र प्रयोग त्यसको एउटा पूर्वशर्त हो । समाजवादी अर्थतन्त्रमा उत्पादनका साधन समाजको स्वामित्वमा हुन्छन् । समाजको स्वामित्वमा भएको योजनाबद्ध अर्थतन्त्रले उत्पादनलाई समाजको आवश्यकतासँग समायोजन गर्दछ । त्यसले काम गर्न सक्ने सबैलाई जिम्मेवारीको उचित बाँड फाँड गर्छ । समाजका कमजोर समुदायको पनि जीवनयापनको ग्यारेन्टी गर्छ ।
राजनीतिक पुनर्गठन
समाजवादी यात्राका लागि राजनीतिक दिशा स्पष्ट गर्दै राजनीतिक कार्यदिशा निर्माण गर्नु अर्को महत्वपूर्ण अभिभारा हो । समाजवादको आधार तयार पार्न जनताका विभिन्न वर्ग, जनसङ्गठन र सम्भव भएसम्म राजनीतिक दलसँग विभिन्न रूप र स्तरमा संयुक्त मोर्चा कायम गर्न जोड लगाउनु पर्छ । अहिले बनेको समाजवादी मोर्चालाई समाजवादको राजनीतिक वातावरण तयार बनाउन परिचालन गर्न सकिन्छ । कम्युनिस्ट पार्टीको पुनर्गठन गर्दै सबै वामपन्थी शक्तिबीच एकीकरण गर्न सक्दा समाजवादका लागि राजनीतिक वातावरण परिपक्व बन्दै जान थाल्छ ।  
समाजवादी क्रान्तिको नेतृत्वका लागि मार्क्सवादी दृष्टिकोणले उज्यालो दिन्छ । उक्त दृष्टिकोणको मद्दतले समाजवादको बुझाइलाई वैज्ञानिक ढङ्गबाट उठाउनु पर्दछ । धेरैले तर्क गर्न सक्छन्, पौने दुई सय वर्ष पुरानो मार्क्‍सवादले हामीलाई आजका समस्या हल गर्न कसरी मार्गदर्शन गर्न सक्छ ? तर, मार्क्‍सवाद स्थिर छैन र यो समाजको गति र विज्ञानको विकास सँगसँगै चलिरहेको छ । 
समाजवादको सार भन्नु नै सबैका लागि समृद्धि हो । निष्पक्षता र न्याय समाजवादको नैसर्गिक मान्यता हो । पूँजीवादीहरुले आलोचना गरेजस्तो समाजवाद गरिबीको वितरण होइन । यथार्थमा समाजवादको अर्थ गरिबीको सामूहिक निराकरण हो । समाजवादको आधारभूत मान्यता भनेको रोजगारी श्रृजना गर्नु हो र त्यहीमार्फत जनताको जीवन स्तर उठाउँदै अन्ततः सामूहिक प्रगति गर्नु हो । 
समाजवाद तर्फको यात्राका लागि मूल्य, मान्यता, आदर्श, अनुशासन, नैतिकता, आचरण र जीवनपद्धति समाजवादी विचारधारा अनुकूल बन्नु पर्दछ । अर्थनीति, शिक्षा तथा स्वास्थ्य नीति, रोजगार नीतिसहित आधारभूत पुनर्संरचनालाई सम्पूर्ण परियोजना मानेर समाजवादी कार्यक्रम स्पष्ट गर्नु आवश्यक छ । 
साङ्गठनिक पुनर्गठन
समाजवादी क्रान्तिको यात्रा तय गर्न सचेत र मजबुत संगठनात्मक शक्तिको आवश्यकता पर्दछ । त्यसका लागि, आजको युगको नेतृत्व गर्न सक्ने पार्टी संरचना निर्माण गर्नु अनिवार्य हुन्छ । लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई अहिलेको परिस्थितिअनुसार अभ्यास गरिनु पर्दछ । पार्टीभित्रका क्रियाकलाप, विषयवस्तु, स्वरूप, साधन, तरिका र माध्यममा सुधारसहित परिवर्तन ल्याउनु पर्दछ । हाम्रा अनुभवबाट पाठ सिकेर आगामी अभ्यासलाई अगाडि बढाउनु पर्दछ । 
हाम्रा अभ्यासमा केन्द्रीयता र जनवाद, अनुशासन र स्वतन्त्रता दुवै होस् । चाहनाको एकरूपताका साथै वैयक्तिक चित्त प्रसन्नता पनि होस् । सामूहिक उत्साहमा व्यक्तिगत उत्साह समावेश होस् । नियमको कार्यान्वयनको उद्देश्य पार्टीभित्रका समस्या समाधान गर्नु होस् । समाजवाद प्रतिकूल नैतिक ह्रास भएका र समाजवादी अनुशासन उलङ्घन गर्नेलाई दण्डित गर्ने परिपाटी स्थापित होस् । सवल र जीवन्त लोकतन्त्रमा विश्वास गर्ने नेतृत्व पङ्क्तिले मात्र समाजवादी यात्राको सुरुवात गर्न सक्छ । उक्त नेतृत्वले नयाँ पुस्तालाई प्रशिक्षित र सङ्गठित गर्न विशेष जोड गर्नु पर्छ ।
सांस्कृतिक पुनर्गठन
संस्कृति कुनै पनि समाजको आत्मा हो । सांस्कृतिक पुनर्गठनको मूल उद्देश्य समाजवादी मूल्य मान्यतालाई जीवन व्यवहारमा लैजानु हो । अध्ययन, अनुसन्धान, साहित्य, कला, सङ्गीत आदि माध्यमबाट समाजवादी चेतनाको विकासलाई अघि बढाउनु पर्दछ । देशभक्ति र अन्तर्राष्ट्रिय वादको भावनालाई समानान्तर रूपमा लैजाने शिक्षालाई प्रोत्साहन गर्नु पर्छ । देशको इतिहासमा जनताको योगदान तथा बलिदानसम्बन्धी सही दृष्टिकोणले देशभक्ति पूर्ण भावनालाई समृद्ध गर्न सहयोग गर्छ । सही वर्गीय दृष्टिकोणले अन्तर्राष्ट्रिय वादको बुझाइलाई प्रेरित गर्दछ । 
तसर्थ, सही सांस्कृतिक दृष्टिकोण बनाउन जनतालाई अभिप्रेरित गर्नुपर्दछ । सही परम्परागत संस्कृतिलाई बढावा दिनु पर्दछ भने समाजवाद अनुकूल नभएका अभ्यासलाई रुपान्तरण गर्नु पर्दछ । समाजवाद अनुकूलको संस्कृतिलाई जीवन व्यवहार बनाउँदै लैजानु पर्छ । समाजवादी संस्कृतिलाई अन्य आयामझैँ महत्व नदिने हो भने समाजवादी क्रान्तिले गति लिन सक्दैन ।
समाजवादको आधार तयार गर्न यी चार पुनर्गठनका अतिरिक्त चार आधुनिकीकरणको आवश्यकता पर्दछ । यी चार आधुनिकीकरणको ढाँचा तयार गरी आधारभूत संरचनाको परियोजना तयार पार्नु आवश्यक छ । हरेक विशिष्ट स्थितिमा कार्ययोजना निर्माण गरेर अगाडि बढ्नु आवश्यक हुन्छ ।
कृषि
कृषि नेपालको सभ्यता र संस्कृति मात्र होइन हाम्रा कतिपय उद्योगधन्दाको पनि आधार हो । समाजवादको आधार तयार पार्न कृषिमा आधुनिकीकरण सबैभन्दा महत्वपूर्ण छ । भूमण्डलीकरण र भूराजनीति भुमरीबाट पार पाउन पनि कृषिको आधुनिकीकरणमा सर्वाधिक जोड गर्नु पर्दछ । राष्ट्रिय अर्थतन्त्रको विकास गर्न, आत्मनिर्भरताको जग हाल्न र राष्ट्रिय स्वाभिमानको भावना जागृत गर्न यो अपरिहार्य छ । त्यसका लागि खोज, अनुसन्धान र पर्याप्त लगानीको आवश्यकता पर्दछ । साथै, यसका लागि प्रभावकारी संयन्त्र पनि खडा गर्नु अनिवार्य हुन्छ । 
कृषिमा हामीले समग्रताको दृष्टिकोण अगाल्नु पर्छ । वनजङ्गल, जलाधार, खेतीयोग्य जमिन सबैको भरपूर सदुपयोगबाट मात्र जनताको जीवनस्तरलाई उठाउन सकिन्छ । जमिनको सदुपयोगको जिम्मेवारीका लागि एउटा सर्वाधिकार संयन्त्र खडा गरी काम सुरु गर्न सक्छौं । उक्त संयन्त्रले प्राकृतिक स्रोतसाधनको समन्वयात्मक उपयोगको व्यवस्थालाई दिशानिर्देश गर्न सक्छ ।
उद्योगधन्दा 
समाजवादको आधार तयार गर्न सामूहिकतामा आधारित उद्योगधन्दा व्यापक रूपमा सञ्चालन गर्ने नीति अवलम्बन गर्नु पर्दछ । केवल ठूला उद्योगमा मात्र जोड दिने होइन, परम्परागत र साना तथा मझौला आकारका उद्योगको सञ्चालन आवश्यक हुन्छ । यसबाट देशको आवश्यकता पूर्ति गर्ने क्षमता पनि विकास हुन्छ । समयानुकूल क्षमता अभिवृद्धि तथा आधुनिकीकरण त अनिवार्य भइहाल्छ । उद्योगधन्दा सञ्चालनमा नयाँ प्रविधि प्रयोग त अनिवार्य छ नै आविष्कार, अनुसन्धान, खोज र नवप्रवर्तनका लागि लगानीको आवश्यकता पनि पर्दछ । 
कृषि, प्राकृतिक स्रोतसाधन, पर्यापर्यटनमा आधारित आधारभूत उद्योगधन्दालाई प्राथमिकता दिँदै जान सकिन्छ । यसका साथैै विज्ञान प्रविधि, खनिज, जडीबुटी, वन पैदावार, कृषि वनमा आधारित उद्योगधन्दाको पनि विकास गर्दै लैजानु पर्दछ । हाम्रो क्षमता कमसेकम आन्तरिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने हुनु पर्छ । बदलिँदो रूचिअनुसार माग सम्बोधन गर्नसक्ने गरी नयाँ प्रविधिको प्रयोग गर्नु पर्दछ ।
राष्ट्रिय सुरक्षा
संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्नता र पञ्चशीलताका सिद्धान्त, विश्वशान्तिका मान्यता, अन्तर्राष्ट्रिय कानुन एवं पारस्परिक हित र लाभका आधारमा राष्ट्रिय सुरक्षा नीति निर्माण गर्नुपर्दछ । बाह्य हस्तक्षेपलाई रोक्न हाम्रा नीति परिलक्षित हुनु पर्दछ । स्वतन्त्रता र राष्ट्रिय सार्वभौमिकता समाजवादी व्यवस्थाका आधारभूत मान्यता हुन् । 
नेपालको स्वार्थमा कहीँ, कतैबाट आँच आउन थाल्यो भने हाम्रो समाजवादी यात्रा बिथोलिन थाल्छ । नेपालका आफ्ना सवाल आफ्नै विशिष्टताअनुसार चल्नु पर्दछ । स्वतन्त्रता र आत्मनिर्भरता समाजवादी कार्यक्रमको आधारभूत अडान हो । सबै प्रकारका हैकमवादको विरोधमा र विश्वशान्तिको पक्षमा खडा हुने नीतिले मात्र समाजवादलाई प्रवर्द्धन गर्छ । राष्ट्रिय सुरक्षालाई मजबुत पार्न नीति मात्र भएर हुन्न, यसका लागि दक्ष जनशक्ति, कानुनी सुनिश्चितता तथा आधुनिक उपकरणको पनि आवश्यकता पर्दछ ।
विज्ञान तथा प्रविधि
विज्ञान, खोज र अनुसन्धानसम्बन्धी हाम्रो परम्परा र आधारशिला निकै कमजोर छ । पुर्खाका अप्रमाणित विद्वता र महानताको बखान गरेर वर्तमानमा सन्तुष्ट हुने रोगले हाम्रो समाजलाई अझै छोडेको छैन । नवीन प्रयोगमा हाम्रो प्राथमिकता तथा लगानी अत्यन्त निम्छरो छ । विश्वव्यापी दृष्टिकोणले विज्ञान प्रविधिमा आधुनिकीकरणमा सहयोग गर्छ । 
प्रविधि विज्ञानको क्रान्तिले लिइरहेको तीव्रता, नयाँ नयाँ अनुसन्धानको दिशातर्फ गइरहेको विश्वको ध्यान हाम्रा लागि सुखद पक्ष त हो नै चुनौती पनि हो  । तसर्थ, समाजवादी कार्यक्रमका लागि विज्ञान तथा प्रविधिको क्षेत्रमा आत्मनिर्भर हुने नीति लिनु जरुरी छ । त्यसका लागि विद्यमान समस्याबारे अनुसन्धान गर्नु पर्दछ, नयाँ खोज गर्नु पर्दछ । विज्ञान र प्रविधिमा नवप्रवर्तन र मानव संसाधनको विकासमा बलियो जग खडा गरेर मात्र समाजवादी यात्राको बलियो जग खडा हुन्छ । 

०००