पार्टी पुनर्निर्माण र पार्टी एकताको प्रश्न
माक्र्सवाद वाइबल, कुरान वा गीता जस्तै धर्मग्रन्थ होइन।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास धेरै लामो (६८ वर्ष) भइसक्यो। पछिल्लो समय आन्दोलनप्रति नेपाली जनताको समर्पण, ऐक्यबद्धतामा ठूलै सफलता मिलेको छ। आन्दोलनको वरिपरी व्यापक जनमत तयार भएको छ। नेपाली समाजको बनोट र तात्कालीन अन्तरर्विरोधहरुको आधारमा नेपालको क्रान्तिका कार्यभारहरु– सामन्तवादको अन्त र लोकतन्त्रको प्राप्ति, राष्ट्रिय स्वाधीनताको जगेर्ना र राष्ट्रिय अर्थतन्त्रको निर्माण एवम् समृद्धि हासिल गर्दै समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्नु रहेको हो। जनयुद्ध र संयुक्त जनआन्दोलनको परिणामस्वरुप सामन्तवादको राजनीतिक प्रतिनिधि संस्था राजतन्त्रको अन्त्य भएको छ। तर त्यससँग जोडिएका केही आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरु भने अझै कायम छन्। ती सबै समाजवादी क्रान्तिका दौरानमा हल हुँदै जानेछन्।
समग्र कम्युनिष्ट आन्दोलनमा माक्र्सवाद प्रयोगको सम्बन्धमा आन्दोलनभित्र मुख्य समस्याका रुपमा दक्षिणपन्थी अवसरवाद नै रहेको छ। बेलाबखतमा देखा पर्ने उग्रवामपन्थी कठमुल्लावाद र मध्यपन्थी अवसरवाद पनि समस्या बनेको हो। यी नकारात्मक प्रवृत्तिका विरुद्ध क्रान्तिकारी माक्र्सवादको सिर्जनात्मक प्रयोगको लगातार संघर्ष चलिरह्यो। अहिले पनि त्यस्तो संघर्ष निरपेक्ष ढंगले चलिरहेको छ। पार्टीको समग्र जीवनमा नेपाली कम्युनिष्ट आन्दोलन र विश्व कम्युनिष्ट आन्दोलनमा लगातार संघर्ष र ध्रुवीकरण भइरहेको छ। आज ६८ वर्षपछि नेपाली कम्युनिष्ट आन्दोलन फेरि बेग्लै विशिष्ट मोडमा उभिएको छ। नयाँ ढंगको ध्रुवीकरण हुँदैछ। त्यसको परिणाम के हुने वा त्यसले कस्तो चरित्र ग्रहण गर्ने हो त्यो हाम्रो आफ्नै अनुभवबाट मात्रै सिद्ध हुनेछ। एउटा कुरा अवश्य भन्न सकिन्छ कि– नेपाली कम्युनिष्ट आन्दोलनको एउटा कालखण्डको अन्त्य र अर्काे कालखण्डको प्रारम्भ हुनेछ। पार्टी एकता र ध्रुवीकरणको दिशामा अघि बढिरहेका दुई धार ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (एमाले) बीच गतकालमा विचार, राजनीति, संगठनबारे ठूलठूला विवाद र बहस भएका छन्। ती विवाद र बहसमा व्यवस्थित टुंगो लागिसकेको छैन तर नेपालको आफ्नै ढंगले विकसित हुँदै गएको आर्थिक, सामाजिक, राजनीतिक परिस्थिति, भूमण्डलीकृत साम्राज्यवादको बढ्दो हस्तक्षेपबाट पैदा भएको असुरक्षा विरुद्ध कम्युनिष्ट शक्तिहरु एकजुट हुनुपर्ने जनताको सन्देशले एकताको आवश्यकता भएको हो।
दश वर्षको बलिदानीपूर्ण जनयुद्धले लक्षित गरेको तात्कालिक नेपाली क्रान्तिको लक्ष्य पूरा नहुने अवस्थामा शक्ति सन्तुलनको स्थितिलाई मध्यनजर गर्दै क्रान्तिकारी आन्दोलनको प्रयोगलाई नयाँ मोड दिएर ‘शान्ति र संविधान’को एजेण्डामा लोकतान्त्रिक सुधारवादीहरुसँग सम्झौता गरिएको हो। यसलाई नेपाली क्रान्तिको कार्यनीतिक मोडका रूपमा बुझिएको हो। संविधान, सरकार, सदन र सडक तात्कालिक कार्यनीति मात्र थिए। यही कार्यनीति अवलम्बन गर्ने दौरानमा अन्तरिम तर पुनर्स्थापित संसद् र संविधान सभाको निर्वाचनपछिको पहिलो गणतान्त्रिक सरकारको नेतृत्व हाम्रो पार्टीले गरेको हो। युद्ध र आन्दोलनमा खेलेको भूमिकाको रापताप, पहिलो संविधान सभाको निर्वाचनको परिणामको बाहिरी असर दोस्रो संविधान सभाको अघिसम्म रह्यो तर पार्टी फुट र भित्रभित्रै अन्य कतिपय कारणले पार्टी कमजोर हुँदै गएको स्थिति र वैचारिक, सांगठनिक एवम् सांस्कृतिक आचरणमा भइरहेको स्खलन, संगठन परिचालनको मूल मान्यताभन्दा बाहिर एकातिर चरम अराजकता र अर्काेतिर व्यक्तिवादी कार्यशैलीले संगठन जर्जर बन्दै गएको कुरा संविधान सभाको दोस्रो निर्वाचनको परिणामले मात्र ‘थाहा’ हुन पुग्यो। त्यसपछि मात्र पार्टी पुनर्निर्माणको प्रश्न पार्टीमा गम्भीर ढंगले उठ्यो। तर त्यसको ठिक विधि के र कहाँबाट शुरु गर्ने प्रश्न प्रमुख थियो। त्यसको हल विचार, राजनीति, संस्कृति र संगठनात्मक व्यवस्थापनमा नै रूपान्तरणको माग थियो। तसर्थ क्रान्तिको रक्षा, प्रयोग र विकास नगरे पार्टी यथास्थितिमा रहन नसक्ने कुरा निश्चित नै थियो। यस सम्बन्धमा पार्टीले आजको क्रान्तिको कार्यभार पूरा गर्न तात्कालिक राजनीतिक कार्यदिशा पूरा गर्ने पार्टी निर्माण र मौजुदा पार्टीको स्थितिबारे पटक पटक समीक्षा नगरेको पनि हैन। तर त्यस अनुसार पार्टी उन्मुख भयो भएन पहिले पार्टीकै मूल्यांकनले प्रष्ट पार्दछ।
“माक्र्सवाद–लेनिनवादका सार्वभौम सच्चाइहरुलाई नेपाली क्रान्तिको विशिष्टतामा प्रयोगका सन्दर्भमा महान् जनयुद्ध, विभिन्न जनआन्दोलन, शान्ति प्रक्रिया र संविधान सभाको निर्वाचन हुँदै अगाडि बढ्ने क्रममा वस्तुगत रुपले अपरिहार्य विचारधारात्मक र राजनीतिक संघर्षको नयाँ संश्लेषणसहित पार्टीको हेटौंडामा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले उत्पादन र निर्माणका निम्ति संघर्ष गर्दै पुँजीवादी जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने तथा समाजवादी क्रान्तिको तयारी गर्ने नयाँ कार्यदिशाद्वारा सिंगो पार्टीलाई एकताबद्ध पार्ने ऐतिहासिक कार्यभार सम्पन्न ग-यो।” (ए.ने.क.पा.(माओवादी) को सातौं के.स.को प्रथम विस्तारित बैठकमा प्रस्तुत प्रस्तावको पहिलो प्याराको पहिलो अंश)
पार्टीको यही संश्लेषणको आधारमा शक्ति सन्तुलनको स्थितिलाई ध्यानमा राखेर हाम्रो पार्टीले अगाडि बढाएको शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउने र संविधान सभाद्वारा संविधान र त्यसमा अन्तरनिहित ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व, मौलिक अधिकारको व्यापकता, जनतामा निहित सार्वभौमिकता र सामाजिक न्याय’ जस्ता चरित्रयुक्त सापेक्षित प्रगतिशील संविधान निर्माणलाई प्रधानता दिन आन्दोलनको नयाँ रुप दिइएको थियो। संविधान निर्माण र त्यसको घोषणा गर्ने समयमा एकातिर स्वतन्त्र निर्णय गर्ने सार्वभौम अधिकारमाथि विदेशी शक्तिको हस्तक्षेपको चुनौती आयो भने त्यसको अर्काेतिर कार्यान्वयन गर्ने अवस्थामा त्यस्तै चुनौतीहरु देखा पर्न थाले। बाह्य हस्तक्षेप विस्तारवादी एवम् साम्राज्यवादी) का भिन्न भिन्न रुपका दवाव, धम्की, घेराबन्दीको सामना गर्न युद्ध र आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा एवम् जनतामा परिवर्तनको अनुभूति सम्प्रेषित गर्ने, आधारभूत जनता (भुइमान्छे) को सामाजिक एवम् आर्थिक जीवनमा सम्मान तथा सहुलियत प्रदान गर्न, देशको राष्ट्रिय सम्मान एवम् स्वाधीनताको रक्षा गर्न, प्राकृतिक सम्पदाको आन्तरिक उपयोग एवम् रक्षा र राष्ट्रिय समृद्धिमा समेत अधिक टेवा पु-याउन तत्काल राज्य व्यवस्थामा उपयुक्त हस्तक्षेप पु-याउन वाम शक्तिहरुको गठबन्धन आवश्यक भएको हो । साथै त्यस्तो गठबन्धनलाई स्थायित्व दिन र जनताको भावना र आकांक्षालाई सम्बोधन गर्न एउटै कम्युनिष्ट पार्टी निर्माणको औचित्य अगाडि आइपुगेको हो। तर जति सरल ढंगले आवश्यकताको महसुस भएको छ, त्यसको कार्यान्वयन त्यति सरल भने छैन। लामो कालदेखि वैचारिक, राजनैतिक अन्तर्विरोधमा उल्झिएका पार्टी र त्यसले पारेको दरार मेट्नु, फरक फरक सांस्कृतिक पृष्ठभूमिमा हुर्किएको पार्टी र पार्टीपंक्तिलाई एकतामा समेटन पर्ने कठिनाइ त छँदैछन्। वैचारिक भिन्नताको अन्तर र त्यसले छोडेको सांगठनिक एवम् मनोवैज्ञानिक असर चानचुने एकताको औपचारिकताले मात्र मेटिने देखिन्न। कुशल व्यवस्थापन र राजनीतिक संस्कारको उच्चता प्रदर्शन गर्न नसके संगठनमा निस्क्रियता या फूट सहजै देखिन्छ।
माक्र्सवाद लकिरका फकिर जडसुत्र होइन, न त यो जस्तो जस्तो जीवन जिइरहेछ, त्यसैमा हिड्ने व्यवहारवाद हो । यो त्यस्तो सजीव समाज विज्ञान हो जसले समाजका सबै विकसित अन्तर्विरोधहरुलाई वर्गचेतनायुक्त संघर्षको औजारको माध्यमबाट हल खोज्ने विधि निर्देशित गर्दछ। समयसँगै वर्गचरित्रका स्वरुपहरु, केन्द्रहरु, वस्तुहरु फेरिने गर्छन्। दास युगको कुरुप शोषणदेखि भूमण्डलीकृत साम्राज्यवाद र बहुराष्ट्रिय कम्पनीका वित्तिय शोषण तथा आजको अन्तरिक्ष युद्ध एवम् नाकाबन्दी युद्धको रुपसम्म फेएिको हुन सक्छ। परिधि फराकिलो बनेको छ। त्यसैगरी मेसिनले विस्थापित गरेको श्रम तथा उत्पादक शक्ति र सफ्टवयरले विस्थापित गरेको श्रमशक्ति विश्वभरि छरिदै गएको छ। वर्गको उत्थान र पतन नयाँ ढंगले हुँदैछ। नयाँ ढंगको समस्या र वर्ग बनोट बन्दै पनि गएको छ। तर संघर्ष निरपेक्ष छ। यसलाई आजको युगमा माक्र्सवाद–लेनिनवाद–माओवाद/विचारका सार्वभौम सच्चाइहरुको आत्मसात् गर्नु र पचाउने चेतनाको विकास गर्नु आजको माक्र्सवादको विकास हो।
आजको नेपाली समाजको स्तर र बनोट नियाल्दा ‘फिरन्ते जीवन विताइरहेका राउटे, गुफामा बस्ने चेपाङ, परम्परागत खेतीमा निर्भर पछौटे ग्रामीण कृषि व्यवस्था, शुद्ध पिउने पानीको अभावमा बाँचेको सिंगो देश, जीवनजल नपाएर झाडा पखालाले मर्ने कर्णाली प्रदेश, शीत लहरले कठ्याङ्ग्रिएर मर्ने तराइको गरिबी, पचासौं लाख युवा विदेशिनु पर्ने राष्ट्रिय बेरोजारी, दरिद्रता र न्यून चेतनाले विक्री भइरहेको नारी अस्तित्व, विदेशी अतिक्रमणले खण्डित राष्ट्रिय सार्वभौमिकता, असमान सन्धि सम्झौताबाट सौदावाजी भइरहेको राष्ट्रिय अस्मिता, विदेशीको सुक्ष्म व्यवस्थापनले गाँजेको राज्यव्यवस्था, विश्वको सूचना लिएर बस्ने शहरीया जीवन, युरोप तथा अमेरिकी शैलीमा बस्ने सम्भ्रान्त वर्ग, जाँडरक्सी, जुवातासमा एक रातमै लाखौं करोडौं उडाउन सक्ने अपारदर्शी धनाढ्य, राष्ट्रिय समृद्धि घेराबन्द अर्थव्यवस्था, उच्च र मध्यमवर्गीयको हातमा रहेको मूल बागडोर’ यो चित्र देखिन्छ। यी सबै समस्याको समाधान नेपाली क्रान्तिको अभिष्ट हो। त्यो औचित्यको अन्त्य भएको छैन।
नेपाली क्रान्ति (नयाँ जनवादी) का आधारभूत कार्यभारमध्ये सामन्तवादको राजनीतिक संरचनागत अस्तित्वको अन्त भएको छ। बाँकी दुई कार्यभार भने अझै पूरा हुन सकेका छैनन् तर समाजमा उत्पादनका साधनहरुको हिजोको स्वामित्व र सम्बन्धमा परिवर्तनहरु भएका छन्। अन्तरविरोधका रुपहरु पनि परिवर्तन भएका छन्। लामो समयदेखिको सामाजिक, राजनैतिक, आर्थिक एवम् सांस्कृतिक विकासक्रमले अन्तरविरोधका मूल चरित्रमा फरक देखिएकोले नै हेटौडा महाधिवेशनले नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा मूलतः समाजवादी कार्यदिशा भनी ठम्याएको हो।
कार्यदिशा कार्यान्वयन गर्ने र अन्तविरोधलाई ठीक तरिकाले सञ्चालन गर्ने संयन्त्र भने संगठन हो। हाम्रो विद्यमान संगठनबारे पार्टीको दस्तावेजले भन्छ– “महाधिवेशनले विकसित नयाँ कार्यदिशा अनुसार जनआधारित सर्वहारा वर्गको अग्रदस्ताका रुपमा संगठनात्मक रुपले नयाँ ढंगको कम्युनिष्ट पार्टी गठनमा जोड अवश्य दिएको छ। तर त्यसका निमित्त आवश्यक संगठनात्मक सिद्धान्त र कार्यदिशा, संगठनात्मक संरचना, कार्यशैली र आचरण, नेतृत्व प्रणाली सम्बन्धि समुचित नीति, विधि र प्रक्रियाको विकासमा भने ठोस र मुर्त नीति, योजना बन्न सम्भव भएन र हुन सकेन।” (उही प्यारा दुई) यहाँ भन्न खोजिएको कुरा के हो भने– आजको पार्टी स्थापनाकालको पार्टी हैन। धेरै सम्बन्धहरु र अन्तरविरोधका रुपहरु फेरिएका छन्। वर्गसंघर्ष, जनयुद्ध, जनआन्दोलनका धेरै अनुभवहरु हासिल भएका छन् । तर पनि महाधिवेशनले तय गरेको नयाँ कार्यदिशा कार्यान्वयन गर्न सर्वहारावर्गको अग्रदस्ता नै आवश्यक छ तर त्यसलाई परिचालन गर्ने नीति विधियुक्त संगठन निर्माणको व्यवस्थापन भएन । परिणामस्वरुप पार्टी कस्तो बन्न पुग्यो भन्ने सन्दर्भमा सातौं केन्द्रीय समितिको आठौं पूर्ण बैठकमा प्रस्तुत विशेष राजनैतिक एवम् संगठनात्मक प्रस्तावको पृष्ठ ८को चौथो प्यारामा भनिएको छ– “वर्गदृष्टिकोण र वर्गीय निष्ठामा आएको यही गम्भीर विचलनको परिणाम नै पार्टीका नेता, कार्यकर्ताहरुको कार्यशैली र सांस्कृतिक आचरण अत्यन्तै अपारदर्शी, अराजक, आत्मकेन्द्रित, व्यक्तिवादी, छाडा र ढोंगी प्रकारको बन्दै गएको छ। यस सन्दर्भमा आर्थिक अराजकताले सबैभन्दा ठूलो सांस्कृतिक विचलनलाई व्यक्त गरिरहेको छ। पद र पैसाको निम्ति जे पनि गर्ने र त्यसका निम्ति कुनै संस्थागत पारदर्शीता अपनाउनु नपर्ने रोगले सिंगो पार्टीको नैतिक धरातल क्षतविक्षत पार्दै लगेको छ। यसका साथै यौनजन्य विकृति लगायत, घरपरिवार, व्यक्तिगत सम्पत्ति सम्बन्धी धारणा र मूल्य–मान्यतामा पनि निक्कै ठूलो अराजकता र नैतिक ह्रास आइपुगेको छ। श्रमलाई सम्मान गर्ने तथा नियमित श्रमकार्यमा संलग्न हुने, उत्पादन कार्य र उत्पादनका निम्ति संघर्षमा सहभागी हुनु जुन कम्युनिष्ट आचरणका आधारभूत पक्ष हुन्मा आज पार्टीपंक्तिमा चिन्ताजनक हसम्म विचलन आएको छ। श्रम र उत्पादनका निम्ति संघर्षमार्फत् जीवनको सम्पूर्ण गौरव र औचित्य हासिल गर्ने सर्वहाराकरणको विकासको सट्टा श्रम उत्पादनबाट विमुख भई चन्दा ठगी तस्करी र भ्रष्टाचार जस्ता लम्पेन सर्वहारा चरित्रको विकास हुँदै गएको देखिनुले पार्टी, क्रान्ति र सिंगै समाजका लागि निकै ठूलो खतराको संकेत गर्दछ” भन्ने स्वीकारोक्तिले हाम्रो पार्टीको यथार्थ तस्वीर प्रस्तुत हुन्छ। यसको मूल कारण हो विचारको कमजोर जगमा अडिएको संगठनमा विकृत समाज र पुँजीवादी अराजकताको जबर्जस्त प्रभाव। तसर्थ पार्टीको जोड पुनर्निर्माणमा हुनुपर्ने त्यसको लागि निर्मम संघर्षको आवश्यकता रहेको हो । सोही दस्तावेजको पृष्ठ ६, प्यारा तीनमा भनिएको छ– “विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ। यो मालेमावादी प्रस्थापना निरपेक्ष यान्त्रिक रुपमा नभएर सापेक्ष रुपमा मात्र सही हो। कितावमा कार्यदिशा आधारभूत रुपमा सही भए पनि यदि त्यसलाई व्यवहारमा उतार्न सक्ने स्पष्ट वर्ग दृष्टिकोण र क्रान्तिकारी इच्छाशक्तिसहितको पार्टी नभएमा कार्यदिशा आफै स्वतःस्फूर्त रुपमा कार्यान्वयनमा गएर सबै कुराको निर्धारण गर्न सक्दैन” भन्ने भनाइले वर्गदृष्टिकोणसहितको आचरणविना पार्टी र आन्दोलन अगाडि बढ्न सक्दैन। पार्टी एकता सम्बन्धी प्रस्ताव प्रस्तुत गर्दाको पृष्ठभूमिमा क. अध्यक्षले भन्नुभयो, पार्टी बनाउने धेरै पर्यत्न भयो, घिसेपिठे तरिकाले पार्टी चल्दैन, त्यसैले पनि पार्टी एकता अनिवार्य भएको छ।
यसर्थ हाम्रो सामुन्ने पार्टी पुनर्निर्माणको चुनौती अगाडि उभिएको बेला, पार्टी शुद्धिकरण र सुदृढीकरण नितान्त आवश्य भएको छ। तर रुपान्तरणसहितको नयाँ पार्टी निर्माणको बेला राष्ट्रिय आवश्यकताले हामीलाई एमाले र अन्य समुहसँग मिलेर एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने दवाव श्रृष्टि गरेको छ। हाम्रो आफ्नै संगठन विश्रृंखलित भएको र व्यवहार र विचारको बीचमा धेरै ठूलो अन्तर छ । आवश्यकता र गन्तव्यको बीचमा विपरित ध्रुवको दुरी जस्तै छ। यस्तो बेलामा जुन पार्टीसँग पार्टी एकता गर्ने निष्कर्षमा पुगिएको छ, त्यो पार्टीसँग विगतदेखि अहिलेसम्मका कैयन अन्तर्विरोधहरु थाती रहेका छन् । आवश्यकताको चापले ती मतभेदको छिनोफानो गरेर मात्र एकता प्रक्रियामा अगाडि जाने समय छैन। तसर्थ, नेपाली कम्युनिष्ट आन्दोलनमा आजको राजनीतिको मूल पक्ष एकतालाई मानिएको हो। अन्तर्विरोधहरुलाई हल गर्ने माक्र्सवादी विधि संघर्ष एकता र रुपान्तरण तथा पार्टीको आन्तरिक जीवनमा अभिव्यक्ति स्वतन्त्रता र काम–कार्वाहीमा एकरुपताको ग्यारेन्टी हुनु जरुरी छ। त्यसले अब बन्ने पार्टीलाई सही दिशा दिन मद्दत गर्नेछ। यसर्थ अहिले पार्टी एकताको मुख्य आधारहरु निम्न बमोजिम देखिएका छन्।
१. नेपाली क्रान्तिको तात्कालिक राजनीतिक कार्यदिशा समाजवाद रहेको र यतिबेला त्यसको आधार निर्माण गर्ने विषयमा दुवै पार्टीबीच समान सोंच देखिएको र क्रान्तिको मार्गदर्शक सिद्धान्त मूलतः माक्र्सवाद–लेनिनवाद रहेको कुरोलाई आत्मसात् गरेको अवस्था छ। साथै हाम्रो पार्टी ने.क.पा.(माओवादी केन्द्र) बाहेक अरु कतिपयलाई कम्युनिष्ट शक्तिका रुपमा नेपाली जनमतले बुझिरहेको पनि छ। त्यस कुरोलाई इन्कार गर्न सकिएन। त्यसले गर्दा ने.क.पा. (एमाले) अन्य समूहसँग एकताको आधार बनेको हो।
२. ने.क.पा. (माओवादी केन्द्र) ले तत्कालका लागि शान्ति र संविधान निर्माणको कार्यनीति अंगालेको हो। शक्ति सन्तुलनको स्थितिमा सम्झौताद्वारा मुख्य रुपमा हाम्रो पहलमा नै संविधान निर्माण गरिएको हो। त्यसैले त्यसको कार्यान्वयन पनि हामी आफैबाट हुनका लागि निर्वाचनमा आवश्यक सफलता हासिल गर्नुपर्ने थियो। एक्लैले त्यो सम्भव थिएन। त्यसका लागि वाम गठबन्धन र पार्टी एकताको नारा जनतामा पु-याउनुपर्ने थियो।
३. नेपालमा वामपन्थीको पक्षमा जनताको झुकाव र जनमत लगातार बृद्धि भइरहेको कुरा तथ्यांकले नै पुष्टि भइरहेको छ। कार्यनैतिक रुपमा पार्टी सडक, सदन सरकारमा रहने नीति रहे पनि विभाजित वामपन्थी शक्तिहरुको स्थितिका कारण आवश्यक सफलता मिलिरहेको थिएन। निर्वाचनमा प्राप्त लोकप्रिय मत सबै समूहको जोड्दा यथेष्ट बहुमत रहन्छ। तर टुक्रा टुक्राका विभक्त वामपन्थीहरु मिल्न नसक्नुका कारण कानुनी रूपमा राज्यसञ्चालनका हकदार प्रायः दक्षिणपन्थी नै हुने गरेका छन्। त्यसले सरकार निर्माण, त्यसको नीति कार्यक्रम, बजेट विनियोजन, सामाजिक न्याय, राज्यका संयन्त्रको नियन्त्रण र परिचालन, उत्पादनका साधनमा स्वामित्व आदि सबै सामन्ती, दलाल नोकरशाही एवम् पुँजीपति वर्गकै हित र हातमा पर्ने र शोषण उत्पीडनमा परेको भुइमान्छे सँधै उपेक्षित भइरहने अवस्थाले गर्दा एकतातर्फ उत्प्रेरित गरेको हो।
४. आज विश्वकम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक अवस्थामा छ। साम्राज्यवादले एकतर्फी हमला गरिरहेको छ। तर नेपालमा भने प्रभाव बढ्दो अवस्थामा छ। त्यसको रक्षा एवम् विकासका लागि एकता एवम् ध्रुवीकरण सँधै आवश्यकता खड्किरहेको थियो। त्यसैले पुँजीवाद एवम् साम्राज्यवाद विरुद्ध प्रतिरक्षा र विकासका लागि आपसमा भएका अन्तर्विरोध न्यून वा थाती राख्दै एकता प्रधान बनेको हो।
५. माक्र्सवाद वाइबल, कुरान वा गीता जस्तै धर्मग्रन्थ होइन । यो त समाज विकासका सम्पूर्ण आयामलाई समेट्ने गतिशील विज्ञान हो । यो विचार रक्षाकानाममा मन्त्र पाठ गरिने जडशास्त्र हैन र यो आफ्नो अनुकूल व्याख्या गरिने व्यवहारशास्त्र पनि हैन । जड्ता, व्यवहारवाद, महत्वाकांक्षा र बाह्य हस्तक्षेपबाट हुने प्रभावले कम्युनिष्ट आन्दोलनमा फूट विभाजनहरु हुने गरेका छन् । त्यसबाट मुक्त गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई आफ्नै मौलिकता र विशिष्टतामा अगाडि बढाउनुपर्ने अनिवार्यताले धु्रवीकरण आवश्यक भएको हो ।
यतिबेला एकता र ध्रुवीकरणको अभियान गर्दै गर्दा एकतामाथि जडसूत्रीय संशोधनवादको हमला त हुन्छ नै साम्राज्यवादको हमला पनि जारी रहनेछ। परिस्थिति अनुसार देब्रे दाहिने झुकाव हुँदै अघि बढिरहेको नेपाली कम्युनिष्ट आन्दोलन अहिलेको दाहिने झुकावले गर्दा विचारधारात्मक संघर्ष दह्रो बन्न सकेन भने आन्दोलन दक्षिणपन्थी अवसरवादमा नराम्रोसँग भासिने खतरा पनि मौजुद छ। यदि त्यसो भयो भने आजको कम्युनिष्ट आन्दोलन स्वतः विसर्जन हुनेछ। त्यतिबेला उग्रवामपन्थी अवसरवादका निम्ति मलजल सावित हुनका निम्ति अनुकूल अवसर हुनेछ। त्यसैले आजको पार्टी पुनर्निर्माणको दौरानमा बहस, अन्तरक्रिया र अन्तरसंघर्षको माध्यमबाट हल गर्नैपर्ने गम्भीर विषयवस्तुहरु छन्, जसको निरुपण अबको समाजवाद निर्माणको यात्राले दिनु पर्नेछ।
पार्टी निर्माण गर्ने सन्दर्भमा उठेका केही यस्ता गम्भीर प्रश्नहरु छन् जसको हल खोज्न प्रयत्न गरिएन वा ठीक विधिको अवलम्बन गरिएन भने एकता चिरस्थायी नहुन पनि सक्छ। त्यसको लागि पार्टीभित्र आन्तरिक जनवादको ग्यारेन्टी हुनुपर्ने र विधिको रुपमा अभिव्यक्ति स्वतन्त्रता र काम कार्वाहीमा एकरुपताको नीति लागू गर्ने कुरामा सुनिश्चित हुनुपर्छ। यसले एकता–संघर्ष–रुपान्तरणसहितको एकता र धु्रवीकरणलाई व्यवस्थित गर्नेछ। ती गम्भीर प्रश्नहरु हुन्–
(क) अबको नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त के हुन्? माक्र्सवाद–लेनिनवादले मात्र समेट्न सक्छ? सूचना तथा विज्ञान प्रविधिको विकास त्यसले सिर्जना गरेका नयाँ अन्तरविरोधहरुलाई सम्बोधन गर्न आवश्यक छ, त्यो के हुन्छ?
(ख) वर्गहरुको अस्तित्व र वर्गसंघर्षको रुप, आकार के हुन्छ र कसरी अगाडि बढ्छ।
(ग) हाम्रो नेपाली क्रान्तिको राजनैतिक कार्यदिशा समाजवाद हो। आजको तात्कालिक कार्यक्रम समाजवादउन्मुख कार्यक्रम हो, जसले समाजवादका लागि आधार तयार पार्नेछ। समाजवादी कार्यक्रमका स्वरुपहरु (राजनीति, अर्थतन्त्र, संस्कृति र सामाजिक व्यवस्थापन) तथा समाजवादी कार्यदिशा कार्यान्वयनको विधि र प्रक्रिया के हुने?
(घ) राज्यसत्ता परिवर्तनका लागि बलप्रयोगको सिद्धान्तको भूमिका कहाँनेर आइपुग्छ?
(ङ) वर्तमान संविधान निर्माणमा हाम्रो पार्टीको विशिष्ट भूमिका रहेको छ तर यो राजतन्त्र विरुद्ध बुर्जुवाहरुसँगको शक्ति संघर्षमा सम्झौताको दस्तावेजको रुपमा संविधान रहेको हो। संविधानको कार्यान्वयन तात्कालिक कार्यनैतिक विषय हो। वर्तमान संविधानको हुबहु कार्यान्वयनले पनि समाजवाद स्थापना हुने आधार छैन। यसै संविधानलाई कसरी समाजवाद निर्माणको आधार हो भन्न सक्छौं?
(च) समाजवादी क्रान्तिका लागि समाजवादी समाजका वर्गदुश्मनका विरुद्धको संघर्ष झन् पेचिलो हुन्छ। यतिबेला हाम्रो संघर्षको निशाना को हो र प्रधान अन्तविरोध को सँग हो र आधारभूत अन्तरविरोध को सँग हो? छिनोफानो आवश्यक छैन?
(छ) माक्र्सवाद र बहुलवाद विपरित विचार हुन्। दुवैको दार्शनिक आधार फरक छ– द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद र आदर्शवाद। दुवैको मिलावटबाट माक्र्सवाद रहन्न। बहुदलीय जनवादको सैद्धान्तिक आधार बहुलवाद हो। यसमा वैचारिक सम्झौता गर्ने ठाउँ छ?
(ज) औपचारिक लोकतन्त्र बुर्जुवा लोकतन्त्रको मुख्य चरित्र हो जसमा प्रतिस्पर्धा त हुन्छ तर त्यसमा हुने प्रतिस्पर्धाको रुप स्वस्थ मतको प्रतिस्पर्धा भन्दा धन र डनको प्रभावको हुने गर्छ। त्यसैले श्रमिक र सर्वहारा वर्गको संगठनभित्र जनवादी केन्द्रीयताको विधिअन्तर्गत हुने गरेको हो। हामीले अब कुन विधि अवलम्बन गर्ने?
(झ) समाज वर्गीय हुन्छ। वर्गीय समाजमा राज्यसत्ता पनि वर्गीय नै हुन्छ। वर्गीय हितको रक्षाका लागि अधिनायकत्व कायम गरेकै हुन्छ। अब कस्को अधिनायकत्व स्वीकार गर्ने? सामन्त, दलाल पुँजीजीवी, नोकरशाही पुँजीपति वर्ग या श्रमिक, सर्वहारा, श्रमजीवी किसान मजदुर वर्गको?
(ञ) अहिले भूमण्डलीकृत साम्राज्यवादले विश्वव्पापी रुपमा मुख्य रुपले आर्थिक क्षेत्रमा हस्तक्षेप गरेको देखिन्छ। खुला बजार अर्थतन्त्र त्यसको मुख्य चरित्र रहेको छ । पुँजीवादी पार्टीहरु यसको पक्षमा हुनु स्वाभाविकै हो। कतिपय आफूलाई समाजवादी भन्ने पार्टीहरुले पनि खुल्ला बजार अर्थतन्त्रलाई स्वीकारिसकेका छन्। अब हामीले अख्तियार गर्ने अर्थतन्त्रको चरित्र के हुने? राज्यनियन्त्रित वा मिश्रित वा खुला बजार?
(ट) हामीले धेरैपटक भनेको सुनेका छौं– नेपालमा अब राजनैतिक क्रान्ति सकियो, आर्थिक क्रान्ति र समृद्धि हासिल गर्न छौं। समृद्धि आवश्यकता हो। तर राजनैतिक क्रान्ति सकियो भन्नु र समृद्धि हासिल गर्ने भन्नु फरक विषय हो। समृद्धि आवश्यक छ तर राजनीतिक क्रान्ति सकियो भन्नुले वर्गसंघर्षको अन्त भएको मान्यता राख्छ। मुलुकमा पुँजीवादसम्म पूर्ण प्रवेश भएकै छैन, राजनीतिक क्रान्ति सकिएको कसरी भन्न सकिन्छ?
कम्युनिष्ट आन्दोलनमा व्यापकता सिर्जना गर्ने, आजका उपलब्धिहरुको रक्षा र विकास गर्ने, माक्र्सवाद–लेनिनवाद र तेस्रो विश्वको सन्दर्भमा, क्रान्तिको लागि उत्प्रेरणा र आधार मानिएको माओका योगदानको सैद्धान्तीकरण गरिएको माओवाद वा विचारका सार्वभौम सच्चाइलाई पक्रने मामलामा गल्ती नहोस् भन्ने अभिप्रायले सचेतनाका साथ यी केही प्रश्नहरु पनि उठाइएको छ। यसबारे वैयक्तिक धारणाहरु अवश्य पनि छन् तर तिनको सांगठनिक निरुपण विना यथार्थमा कम्युनिष्ट अगाडि बढ्न कठीन हुन्छ। सकेसम्म विचारको रक्षा गर्दै एकतालाई अघि बढाउन बल पुगोस् भनी नकारात्मक पक्षलाई निषेध गरिएको छ। सारमा अहिलेको एकीकरण तथा धु्रवीकरणको आवश्यकता, नेपाली क्रान्तिको राजनीतिक कार्यदिशाको निक्र्याैल, ने.क.पा.(माओवादी केन्द्र) को आफ्नै अवस्था समीक्षा, एकताका लागि आधार, क्रान्तिकारी माक्र्सवादको रक्षाका लागि विचारधारात्मक, राजनीतिक, सांगठनिक, सांस्कृतिक, आर्थिक नीतिबारे हल गरिनुपर्ने प्रश्नहरु, पार्टीको आन्तरिक जीवनमा देखापर्ने अन्तर्विरोध परिचालन गर्ने विधिको ग्यारेन्टी गरिनुपर्ने जस्ता विषयहरु समाविष्ट रहेका छन्।