संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी केन्द्रले मंसिर मसान्तसम्म सबै पालिकामा सम्मेलन र खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारीसभा गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारले गरिरहेका बेथितिविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय निर्णय गरेको हो ।

बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना पनि बनाएको छ ।

खबरदारी सभामार्फत सरकारका बेथिति जनताको बीचमा लैजाने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– रा्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ । यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’

उहाँले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको उल्लेख गर्दै संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ । त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ ।