संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः अध्यक्ष प्रचण्ड

वडा अध्यक्ष यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न अध्यक्ष प्रचण्डको आग्रह

महोत्तरी, २६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताउनुभएको छ । 
महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्ताहरूलाई स्वागत गर्दै उहाँले पार्टीले लिएको एजेण्डा र त्यसकै आधारमा पार्टी नेतृत्वको सरकारले गरेका कामका कारण पार्टीप्रति आकर्षण देखिएको बताउनुभएको हो । 
‘पहिचानका पक्षमा लड्ने पार्टीको रुपमा माओवादी केन्द्र स्थापित भएकै छ, थप सुशासन, सामाजिक न्याय र समृद्धिका लागि हाम्रो पार्टीले अघि सारेको सुस्पष्ट एजेण्डाका कारण अहिले देशैभरि फेरि एकपटक माओवादी केन्द्रप्रति आकर्षणको लहर पैदा भएको छ’– उहाँले भन्नुभयो– ‘त्यसैको सानो प्रमाणको रुपमा यो पार्टी प्रवेश कार्यक्रमलाई मैले लिएको छु ।’
राजनीतिक हिसाबले अहिले मुलुक माओवादीकै एजेण्डामा चलिरहेको र आफ्नो पार्टी सरकारमा जाँदा हरेकपटक नयाँ नयाँ काम गरेकाले अन्य पार्टीभन्दा माओवादी केन्द्र नै अब्बल रहेको उहाँले बताउनुभयो । ‘जनयुद्ध र जनआन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन, संविधानसभाको निर्वाचन, गणतन्त्र घोषणा, संविधान निर्माण, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था लगायत सबै आजका एजेण्डा माओवादीले नै अघि सारेका एजेण्डा हुन्’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामी जतिपटक सरकारमा गएका छौं, नयाँ नयाँ काम गरेका छौं ।’
जनतासँग जोडिएको पूर्वाधार निर्माणका हिसाबले पनि मध्यपहाडी लोकमार्गको थालनीदेखि लोडसेडिङ मुक्त नेपाल, गाउँगाउँमा सूचना सञ्चारको विकास हुँदै पछिल्लो समय सुशासन र सामाजिक न्यायका पक्षमा चालेका कदम ऐतिहासिक रहेको उहाँले स्पष्ट गर्नुभयो । भ्रष्टाचारका फाइल खोलेर कारवाही प्रक्रिया थाल्नेदेखि मधेशलगायत देशैभरिको ठूलो समस्याको रुपमा रहेको मिटर ब्याजको समस्या समाधान र लाखौं नागरिकताविहीन युवालाई नागरिकताका लागि कानुनी व्यवस्थालगायतका काम ऐतिहासिक उपलब्धि भएको उहाँले बताउनुभयो । 
यी एजेण्डा र उपलब्धिसहित अब पार्टीलाई बलियो बनाउँदै देशब्यापी ध्रुवीकरणको दिशामा अघि बढ्ने पनि अध्यक्ष प्रचण्डले स्पष्ट गर्नुभयो । सो क्रममा उहाँले पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरुका लागि ठीक ढंगले समयमै सांगठनिक व्यवस्थापन गर्न प्रदेश इन्चार्जलगायत स्थानीय नेताहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा जसपाबाट श्यामबाबु यादव, कांग्रेसका विनयकुमार यादव, मोहित मण्डल, सञ्जीव यादव, जयराम यादव, बालबोध महतो, विरेन्द्र मण्डल, बिजय मण्डल, मनोज मण्डल, नवलकिशोर यादव, रामधविला यादव, लालबाबु यादव, नरेश चौधरी, कारी यादव, जयनारायण यादव, एमालेका श्यामसुन्दर चौधरी, मिथले साह, दिपेन्द्रकुमार चौधरी, बसन्त चौधरी, रामदेव महरा, दीपक सादा, परमजीत सादा, राजेश यादव, घुरण मुखिया, विजय पटेल, विजय शर्मा, उमेश मण्डललगायत माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो ।

यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ। यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। 
वडा अध्यक्ष यादवको गत भदौ ९ गते महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा शव फेला परेको थियो। घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरुले उहाँको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् । यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरु केही दिनअघि राजधानीसम्म पुगेका थिए। घटनाको प्रकृति र घटनाक्रम हेर्दा हत्या भएको देखिने भन्दै उनीहरुले सरकारले अनुसन्धानमा चासो नदेखाएको गुनासो गर्दै आएका छन्।
श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यादवको निधन दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि यसका लागि आग्रह गरिने जानकारी दिंदै यसमा लापर्वाही गरियो भने परिणाम भयानक हुने चेतावनी दिनुभयो। परिवारले न्यायका लागि गरिरहेको याचना धेरै नै कारुणिक रहेको र नागरिकले न्यायका लागि याचना गर्ने अवस्था आउनु राम्रो नभएको उहाँले बताउनुभयो । यसको निष्पक्ष छानबिन हुनैपर्नेमा जोड दिंदै उहाँले स्थानीय जनसमुदायले निरन्तर आवाज उठाइ राख्नुपर्ने बताउनुभयो । यसका लागि आवश्यक परे आन्दोलन गर्नुपर्ने स्थिति पनि आउनसक्ने उहाँले बताउनुभयो । 
अध्यक्ष प्रचण्डले पतिवियोगमा रहेकी अध्यक्ष यादवकी श्रीमतीले देखाएको धैर्यता र साहसले गौरवानुभूति गराएको उल्लेख गर्दै यादवले आफ्नो राम्रो उत्तराधिकारी बनाएकाले अब राजनीतिक र सामाजिक काममा अघि बढ्न प्रेरित गर्नुपर्ने बताउनुभयो । माओवादी केन्द्रको तर्फबाट निर्वाचित वडा अध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेशको सामाजिक अभियन्ता पनि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यादवको स्मृतिमा फाउण्डेशन बनाउन र उहाँका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टीलाई निर्देशन दिनुभयो । उहाँले यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
कार्यक्रममा बोल्दै मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताउनुभयो । उहाँले श्रीमानको निधनको सत्यतथ्य कारण पत्ता लागे आफूहरुलाई न्याय महसुस हुने उल्लेख गर्दै यसका लागि पहल गरिदिन अध्यक्ष प्रचण्डसहित पार्टीसँग अनुरोध गर्नुभयो । यादवको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा माओवादी केन्द्रका अन्य पदाधिकारी, प्रदेशमा कार्यरत केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र ठूलो संख्यामा स्थानीयको उपस्थिति रहेको थियो।