पार्टीको वेवसाइट शुभारम्भ, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले गर्नुभयो उद्घाटन
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) को वेवसाइट उद्घाटन गर्नुभएको छ।

काठमाडौं, मंसिर ११ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) को वेवसाइट उद्घाटन गर्नुभएको छ। पार्टीको प्रचार तथा प्रकाशन विभाग र आइसिटी फोरमले तयार गरेको वेवसाइटको पार्टी कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले उद्घाटन गर्नुभएको हो।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अहिलेको विज्ञान प्रविधिको युगमा पार्टीको वेवसाइट, सोसल मिडियाहरुमा पार्टीका गतिविधि अपडेट गर्नु पार्टीलाई पनि प्रविधिसँग जोड्ने काम भएको बताउनु भयो। पार्टीको वेवसाइट उद्घाटन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले अहिलेको युगमा विज्ञान प्रविधिको उचित उपयोग बिना कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न करिब करिब असम्भव हुने अवस्था आएको बताउनु भयो।

पार्टीको केन्द्रीय समिति बैठकमै प्रचार कार्यलाई व्यवस्थित बनाउन आधुनिक प्रविधिको प्रयोग गर्ने निर्णय भएको अध्यक्ष प्रचण्डले बताउनु भयो। उहाँले भन्नुभयो, ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सञ्चालन गर्ने निर्णयसँगै हामीले आईसीटी गठन गर्ने, वेबसाइट निर्माण गर्ने निर्णय नै गरेका थियौं। जनतासँग जोडिने र त्यसलाई प्रविधिसँग जोडेर व्यवस्थित र व्यापक प्रचार गर्ने कुरालाई हामीले गहिरो गरी आत्मसात गर्न जरुरी छ।’

सोसल मिडियाहरुको शक्ति र प्रभावका बारेमा चर्चा गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सोसल मिडियाले अहिले हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाइदिन सक्छ। हामीले नेपाली जनतालाई हिरो बनाउनु पर्दछ, न कि कुनै अमूक व्यक्तिलाई। वास्तविक हिरो श्रमजीवी जनता नै हुन्।’ पछिल्लो समय लामो समय राजनीतिमा त्याग, तपस्या र बलिदान गरेका पार्टी र नेताहरु ओझेलमा पर्ने र दुई चार दिनमै सोसल मिडियामा आक्रमक बनेकै भरमा चर्चामा आउने खतरा बढिरहेको उहाँले बताउनु भयो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं आइसिटी फोरमका सह-इन्चार्ज रेखा शर्माले पार्टीलाई प्रविधिसँग जोडेर लैजाने विषयमा आइसिटी फोरमको गठन, वेवसाइट निर्माण र सोसल मिडियामा सक्रियता बढाउने विषय अनिवार्य रहेको बताउनु भयो। उहाँले अबको पार्टी निर्माण, त्यसको गुणात्मक विकास र उत्पादनका कार्यमा सफलता हासिल गर्न विज्ञान प्रविधिको महत्वपूर्ण भूमिका हुने बताउनु भयो।

नेपाल सरकारले अघि सारेको डिजिटल नेपालको अवधारणाबारे चर्चा गर्दै मन्त्री शर्माले पार्टीले पनि सूचना र प्रविधिको क्षेत्रलाई आत्मसात गर्दै अघि बढ्न पछि पर्न नहुने उल्लेख गर्नुभयो। सूचना प्रविधिले पार्ने नकारात्मक पक्ष र सोसल मिडियाको दुरुपयोगलाई रोक्न नेपाल सरकारले पहल गर्नुका साथै आवश्यक ऐन कानुन बनाइरहेको मन्त्री शर्माले बताउनु भयो।

कार्यक्रमको अध्यक्षता गर्नुभएका पार्टीका उपाध्यक्ष, आइसिटी फोरमका इन्चार्ज तथा प्रकाशन एवं प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले वेवसाइटका विशेषता, त्यसमा राखिएका सामग्रीहरु र अबको योजनाका विषयमा चर्चा गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन पार्टीको प्रकाशन तथा प्रचार विभाग सचिव एवं आइसिटी फोरमका अध्यक्ष गोविन्द आचार्यले गर्नुभएको थियो।