संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

भारतका प्रमुख चार सहरमा माओवादी उद्घोषः राजतन्त्र फर्कदैन

पार्टीको जारी विशेष रुपान्तरण अभियानअन्तर्गत प्रवासमा रहेका कमिटीलाई सशक्त र चलायमान बनाउने उद्देश्यअनुरुप नेकपा माओवादी केन्द्रले आइतबार मुम्बई, पञ्जाब, दिल्ली र बैंग्लोरमा कार्यक्रम सम्पन्न गरेको छ।

नयाँ दिल्ली। नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको सहभागितामा भारतका चार प्रमुख सहरमा यही मंसिर १० गते आइतबार कार्यक्रम सम्पन्न भएको छ। पार्टीको जारी विशेष रुपान्तरण अभियानअन्तर्गत प्रवासमा रहेका कमिटीलाई सशक्त र चलायमान बनाउने उद्देश्यअनुरुप नेकपा माओवादी केन्द्रले आइतबार मुम्बई, पञ्जाब, दिल्ली र बैंग्लोरमा कार्यक्रम सम्पन्न गरेको हो।

पार्टीको अखिल भारत नेपाली एकता मञ्चअन्तर्गत संयुक्त राज्यस्तरीय जनसभा मुम्बईमा सम्पन्न भएको छ। पार्टी निकट महाराष्ट्र, गोवा, गुजरात राज्य समितिस्तरीय संयुक्त कार्यक्रममा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माको सहभागिता रहेको थियो।

यस्तै पञ्जाबमा भएको जनसभालाई केन्द्रीय सदस्य लक्ष्मण पन्त, दिल्लीमा भएको जनसभालाई उपमहासचिव मातृका प्रसाद यादव र बैंग्लोरमा भएको कार्यक्रमलाई केन्द्रीय सदस्य ईश्वरी भण्डारी र अखिल भारत एकता मञ्चका केन्द्रीय महासचिव चक्रबहादुर मलातीले सम्बोधन गर्नुभएको छ। सो क्रममा नेताहरुले पार्टीको पक्षमा माहोल बढेको भन्दै प्रवासी नेपालीहरुको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभएको थियो।
  
यस्तै पछिल्लो समय प्रतिगामी शक्ति सक्रिय बनेको जस्तो देखिए पनि गणतन्त्रलाई कसैले हल्लाउन नसक्ने समेत उहाँहरुको ठोकुवा थियो। महाराष्ट्रको राजधानीको मुम्बईमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नेपाली जनताको ठूलो त्याग, तपस्या र बलदानीबाट परास्त राजतन्त्र कुनै हालतमा नब्युँतिने बताउनु भयो। ‘राजतन्त्र मसानघाटमा गइसकेको छ। अब फर्किँदैन’, उहाँको उद्घोष थियो। उहाँले माओवादी नेतृत्वको सरकारले जनताको पक्षमा राम्रो काम गरिरहेको भन्दै केही कमजोरी रहेमा सच्याउँदै जान तयार रहेको पनि बताउँदै भारतमा रहेका प्रवासी नेपालीले परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको र अब पनि पार्टीलाई सशक्त बनाउन भूमिका खेल्न आग्रह गर्नुभयो।

पार्टीलाई आगामी निर्वाचनबाट बलियो अवस्थामा पुर्याउने लक्ष्यका साथ रुपान्तरण अभियान सञ्चालन गरिएको बताउँदै शर्माले अभियानले माओवादीमा रक्तसञ्चार गरेको जनाउनु भयो।  सोही कार्यक्रममा समन्वय समितिका सदस्य तथा अखिल भारत नेपाली एकता मञ्चका उपमहासचिव मोहनसिंह देवकरले परिवर्तनको आन्दोलनमा मुम्बईमा रहेका नेपालीहरुले ठूलो योगदान रहेको बताउनु भयो।

महाराष्ट्र राज्य समितिका सभापति कृष्ण राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल भारत नेपाली एकता मञ्चका सचिव ललित बिक, ओम बिक, दीपक बिकलगायतको पनि उपस्थिति रहेको थियो।

यस्तै अन्य सहरमा आयोजित कार्यक्रममा पनि केन्द्रीय नेताहरु बाहेक एकता मञ्चमा आबद्ध नेता तथा कार्यकर्ताहरुको बाक्लो संख्यामा उपस्थित रहेको थियो। माओवादीको रुपान्तरण अभियानअन्तर्गत प्रवास समन्वय समितिले भारतसहित अमेरिका, ओसियाना, युरोप, मध्यपूर्व र पूर्वी एसिया क्षेत्रमा रहेका पार्टी निकट संगठनमाझ सशक्त ढंगले कार्यक्रम गरेको बताइएको छ।