माओवादी केन्द्रद्वारा चीनको सिचुआन भूकम्पप्रति दुःख व्यक्त
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले चीनको सिचुआन क्षेत्रमा गएको विनाशकारी भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका उपाध्यक्ष एवंम प्रवक्ता अग्नि सापकोटाले एक विज्ञप्ति जारी गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । माओवादी केन्द्रले चीन सरकार र चिनियाँ जनतासँग ऐक्यबद्धता व्यक्त गर्दै यस विपद्को सामना गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ । प्राकृतिक विपत्तिको सामना गर्न एकताबद्ध र सशक्त पहलको आवश्यकता रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चीनको सिचुआन भूकम्पका कारण ठूलो जनधनको क्षति भएको र राहत तथा पुनःस्थापनाका प्रयासहरू तीव्र रूपमा अगाडि बढिरहेको छ । उक्त बिपदको उद्धार, राहत र पुनःस्थापनाका लागि माओवादी केन्द्रले विश्वभरका कम्युनिस्ट र मानवतावादी शक्तिहरूलाई पनि आपसी सहयोग र समर्थनमा जोड दिन आह्वान गर्दै दु:खका घडीमा सबैलाई साथ दिनुपर्नेमा जोड दिएको छ । “खोज तथा उद्धार प्रयासलाई तीव्र रुपमा अगाडि बढाइएका समाचार प्राप्त भएका छन्, राहत तथा पुनर्स्थापनामा पनि उत्तिकै सफलता मिलोस् भन्ने कामना गर्दछौं” बिज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै भूकम्पपछिको परकम्प आउन सक्ने भएकोले चनाखो र सतर्क रहन समेत माओवादी केन्द्रले सबैलाई आग्रह गरेको छ ।