संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

उपनिर्वाचनको मत परिणाम भ्रष्टाचारविरुद्ध माओवादीको अभियानको अनुमोदन : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्थानीय तह उपनिर्वाचन २०८१ मा प्राप्त मतलाई माओवादी केन्द्रले अघि बढाएको एजेण्डा र अभियानलाई जनताले अनुमोदन गरेको रुपमा लिएको बताउनुभएको छ । 

स्थानीय तह उपनिर्वाचन २०८१ मा  पार्टीलाई अमूल्य मतदान गर्ने मतदाता, आम जनसमुदाय, पार्टीका नेता कार्यकर्ता, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई आज प्रेस व्यक्तव्य मार्फत धन्यवाद दिँदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । 


 निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले भन्नुभयो -'हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पुर्याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ । विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ । यसबाट हाम्रो पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।'


सो क्रममा अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर पार्टीका सबै जनप्रतिनिधिलाई पूर्णरुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।