संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

राष्ट्रिय समझदारी अनुसार शान्ति प्रक्रिया टुङ्गो लाग्छ : प्रधानमन्त्री एवं अध्यक्ष  प्रचण्ड

काठमाडौँ, १४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समझदारी बनाएर शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।  

द्वन्द्व पीडित परिवारका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूसँग आज सिंहदरबारमा भेट गर्दै प्रधानमन्त्रीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा अदालतको आदेश पालना गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

“सरकारले चाहँदा चाहँदै पनि सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सकिएको छैन,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन नदिने  शक्ति पनि सक्रिय नै छन्, त्यसले गर्दा कतिपय समस्या भएको छ ।” उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउनुका लागि त्यससम्बन्धी विधेयक सरकारले अगाडि बढाएको जानकारी गराउनुभयो ।

द्वन्द्व पीडित परिवारका सदस्यलाई रोजगारी उपलब्ध गराउन, द्वन्द्वमा घाइते भएका व्यक्तिको स्वास्थ्योपचार गर्न र उनीहरूका लागि आवासको व्यवस्था गर्न सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याएर स्थायी शान्ति कायम गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।