संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

महाधिवेशनमार्फत नयाँ विचार संश्लेषण गर्छौं : अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनु भएको छ।

कार्तिक ९, रूकुम पश्चिम। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनु भएको छ।
बिहीबार रूकुमको बाफिकोटमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, "हिजो जनयुद्धको बेला हामीले विचार संश्लेषण गर्यौं, त्यसले पार्टीलाई केन्द्रीकृत गर्यो, विचारमा एकरूपता कायम भयो, संगठनमा एकतासहित गति हासिल भयो। पछिल्लो समय हामीले विचार संश्लेषणलाई महत्त्व दिन सकेनौं, त्यसले पार्टी विकेन्द्रितजस्तो, विचार र संगठनमा अनेकताजस्तो भएको छ। आगामी विशेष महाधिवेशनमा यो त्रुटिपूर्ण हामी सच्चाउँछौं। नयाँ आधारमा विचार संश्लेषण गर्छौं।"

अभियानको सान्दर्भिकताबारे बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, "हामी रूपान्तरणको प्रक्रियामा छौं। जनताले माओवादी फेरि सच्चिन थालेको जनअभिमत छ। यो नै पार्टी रूपान्तरणको आधार हो। यसकै बलमा सुदृढ पार्टी बनाउँछौं।"

माओवादी बलियो भएन भने परिवर्तनका मुद्दा नै अप्ठ्यारोमा पर्न सक्छ, राजनीतिक प्रणाली र देश नै अप्ठ्यारोमा पर्न सक्छ" उहाँले भन्नुभयो, "हामीले नयाँ ढंगले सोच्ने ठाउँमा छौं। सरकार र पार्टी दुवैतर्फबाट नयाँ काम गरिएको छ। एकपछि अर्को अभियानसहित हामी अघि बढ्छौं। हामी जुर्मुराएनौं भने देश नै खतरामा छ। तसर्थ, बलियो पार्टी बनाएर देशलाई निकास दिनेतर्फ गम्भीर रूपले सोचौं।"
"हामी कमजोर हुनुमा विचार संश्लेषण छोड्नु पनि एक हो। हामी कमजोर हुँदै जाँदा प्रतिक्रियावादीहरू बलियाजस्ता देखिए। उनीहरू यो परिवर्तन उल्टाउन अनेक षड्यन्त्र गरेका छन्। माओवादी पार्टी र आन्दोलनमाथि आक्रमण केन्द्रित छ" उहाँले भन्नुभयो, "पार्टी कमजोर हुँदा परिवर्तन कमजोर हुन्छ, परिवर्तन कमजोर हुँदा देश कमजोर हुन्छ, देश अस्तव्यस्त हुन्छ। तसर्थ, परिवर्तनको रक्षा र समृद्धिका लागि हामीले नै अगुवाइ गर्नुपर्दछ।"

"दुनियाँमा ठूलाठूला ध्रुवीकरण देखिएको छ। रूस-युक्रेन, इजरायल-हमास युद्धले तेस्रो विश्वयुद्ध हुनसक्ने खतरा छ। यसलाई हामीले गम्भीरतापूर्वक बुझ्नुपर्छ र नेपालले कुटनीतिक सन्तुलन र असंलग्नतामा जोड दिनुपर्छ" प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले भन्नुभयो, "दुःख सुखमा ध्यान दिनुहोला। विकास निर्माणका काममा प्राथमिकता दिनुहोला। यो अभियान सकिएपछि हामी अर्को अभियानमा गएर महाधिवेशनमा जान्छौं। यो सामान्य काम होइन, महान् कामको सुरूवात हो। यो अभियान राष्ट्रको एकताका निम्ति, स्वाधीनताका निम्ति, देशको समृद्धिका लागि, नयाँ विचार संश्लेषणका लागि हो।"
"नेता सच्चिएर मात्रै देशलाई सही गति दिन सकिन्छ। यसको थालनी गरिएको छ। भ्रष्टाचारविरोधी अभियान, अर्थतन्त्रमा सुधार, सामाजिक समृद्धिका काम त्यसको सुरूवात हो" उहाँले भन्नुभयो, "फेरि अर्को क्रान्तिको सुरूवात, समाजवादी आन्दोलनको सुरूवातका लागि पनि अभियान हो। फेरि जनतालाई जागृत र संगठित गर्नुपर्छ। समाजवादी आन्दोलनको नेतृत्व हामीले बाहेक अरूले गर्न सक्दैन। तसर्थ, हामी नै यसको नेतृत्व गर्नुपर्छ, हामी जनतासँग सुदृढ सम्बन्ध गाँस्नुपर्छ।"

रूकुम जिल्लामा उदाहरणीय काम भएको उल्लेख गर्दै उहाँले यसले देशभरिको पार्टीलाई उर्जा दिएको बताउनु भयो। "जति दिन प्रधानमन्त्रीको कुर्सीमा रहन्छु, त्यति दिन राम्रो मात्रै गर्छु। जनताको हित र स्वार्थका लागि मात्रै काम गर्छु" प्रचण्डले भन्नुभयो, "पार्टीलाई क्रमशः एक्लै चुनाव लड्ने पार्टी बनाउनु पर्छ। त्यसका लागि संगठनमा जोड दिएर जानुपर्छ। अर्को निर्वाचनसम्म अरू पार्टीहरू हामीसँग मिल्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्छ।"

दुई वटाको संयुक्त बैठकलाई सम्बोधन
जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रूकुमको बाफिकोट पुग्नुभएका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बाफिकोट वडा नं. ६ र ७ को संयुक्त बैठकलाई सम्बोधन गर्दै अब पार्टी शक्तिशाली बन्ने बताउनु भयो।

उहाँले भन्नुभयो, "अभियानको क्रममा पार्टीका नेताहरू गाउँ-गाउँ पुग्नुभएको छ। पार्टी नेतृत्वको सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ। यसरी हेर्दा माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्छ। यो पार्टी कमजोर भए गणतन्त्र नै उल्टिन्छ। यो हाम्रा लागि जीवन मरणको संघर्ष नै हो। यो देश हामीले मात्र बचाउन सक्छौं। हिजो विभाजित भएका साथीहरू पनि समाजवादी मोर्चामा आउनुभएको छ। पार्टी एकताका निम्ति पनि सकारात्मक पहल हुँदैछ। जस्तोसुकै परिस्थिति आए पनि हामीले हिम्मत हार्नु हुँदैन। पार्टी शक्तिशाली हुन्छ। शक्तिशाली बनाइन्छ।"

"सात वटै प्रदेशका १/१ वटा वडामा जाने योजनाअनुसार म यहाँ आएको छु। पार्टीलाई जनतासँग जोड्ने, पार्टी रूपान्तरण गर्ने र पार्टी जनतातिर फर्काउने हाम्रो लक्ष्य छ" उहाँले भन्नुभयो, "यो अभियानले पार्टी बन्छ कि भन्ने जनतामा आशा र भरोसा बढ्न थालेको देखिन्छ। सबै रिपोर्ट हेर्दा अभियान प्रभावकारी नै देखिएको छ। जनयुद्धको जस्तो क्रान्तिकारी, जनतासँग घुलमिल हुने पार्टी बन्न सक्ला त? यो हामी सबैका लागि महत्त्वपूर्ण प्रश्न हो। हिजो जनयुद्ध जनवादी क्रान्तिमा थियो, अहिले हामी समाजवादी क्रान्तिको तयारीमा छौं। सोहीअनुरूपको पार्टी बनाउँछौं।"
उहाँले भन्नुभयो, "अहिले हामीकहाँ केही निरासाजस्तो, विरोधीहरू, प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन खोज्नेजस्तो स्थिति छ। यसलाई चिर्न पार्टीभित्र र सरकारको मोर्चाबाट सँगसँगै काम गरिरहेका छौं। तसर्थ, परिवर्तनका मुद्दा र देश बचाउने जिम्मेवारी हाम्रो काँधमा छ।"

"हामीले तरिका मिलाएर सरकारको नेतृत्व गर्यौं, यो त्यत्तिकै भएको होइन। यहाँ पार्टीको कलात्मक नेतृत्वले काम गरेको छ। एकपटक हामी १००% मत प्राप्त गर्यौं। यो न हिजो थियो, न भविष्यमा होलाजस्तो खाले छ" प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो, "मिटरब्याज पीडित किसानहरूको समस्या समाधान गरेका छौं। यसले मधेशमा माओवादीप्रति राम्रो आधार बनेको छ। जनताका लागि काम गर्ने पार्टी माओवादी भएको जनमत बनेको छ। नागरिकताबिहीन लाखौं नेपालीले नागरिकता पाएका छन्। हामीले लाखौं नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेका छौं।"
उहाँले भन्नुभयो, "सुशासनको क्षेत्रमा नयाँ पहल लिइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले राम्रो पहल लिएका छौं। भ्रष्टाचारविरूद्भ सरकारले गम्भीरतापूर्वक काम गरिरहेका छौं। राष्ट्रिय स्वाधीनताका क्षेत्रमा महत्त्वपूर्ण काम गरिएको छ। १० वर्षमा १० हजार मेघावाट विद्युत व्यापारको सम्झौता गरिएको छ। २५ वर्षदेखि अड्किएका परियोजनाहरू अगाडि बढेका छन्। चीनसँग महत्त्वपूर्ण सम्झौता भएका छन्।"

"विश्व ठूलो ध्रुवीकरणमा जाँदैछ, हामीले बचाएर लैजानुपर्छ। ठूलाठूला युद्धका परिघटना देखिएका छन्। हामीले कुटनीतिक सन्तुलन कायम गर्नुपर्छ। यो देश हामीले मात्रै बचाउन सक्छौं" उहाँले भन्नुभयो। बैठकमा पार्टी उपमहासचिवद्वय जनार्दन शर्मा र मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसी लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।

सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरुसँग भेट
कार्तिक ९, रूकुम पश्चिम । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार दिउँसो बाफिकोटका सहिद तथा बेपत्ता परिवार र घाइते योद्धाहरूसँग अन्तरक्रिया गर्दै सत्य निरूपण तथा बेपत्ता सम्बन्धी विधेयक टुंगाउन सरकारले पहल गरिरहेको बताउनु भयो।



अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "गाउँमै आएर भेट्न पाउँदा खुसी लागेको छ। महान् सहिदहरूको बलिदान नभएको भए, बेपत्ता तथा घाइते योद्धाहरूको योगदान नभएको भए देश यहाँसम्म आइपुग्न सम्भव थिएन। तसर्थ, यो परिवर्तनको हकदार तपाईहरू हुनुहुन्छ।"

"यसपटक पार्टीका सबै नेताहरू जनताको घरदैलोमा जानैपर्ने निर्णय गरेका छौं। यो पार्टी रूपान्तरणको महत्त्वपूर्ण आधार हो। फिल्डमै पुगेर पार्टी र जनताको अवस्था बुझ्न म पनि तपाईहरूमाझ आएको छु।" उहाँले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, "फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरिएको छ, यो जनयुद्ध, सहिद, बेपत्ता र घाइतेहरूप्रति उच्च सम्मान हो। यसपटक सबै सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गरिएको छ। यो सहिदहरूप्रति उच्च सम्मान हो।"

"शान्ति प्रक्रियाका बाँकी काम टुंगाउने विधेयक सदनमा पुगेको छ। यो विधेयक टुंगिएपछि जनयुद्धको परिपुरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुन्छन्। सहिद पार्कहरू, स्तम्भहरू बन्छन्। यसले सहिद परिवार, बेपत्ता योद्धा र अपाङ्ग कमरेडहरूको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ। मासिक भत्ता लगायतका कामहरू व्यवस्थित भएका छन्, बाँकी कामहरू पनि सम्पन्न गरिनेछ।"

कार्यक्रममा घाइते योद्धा, सहिद परिवार र बेपत्ता योद्धा परिवारका प्रतिनिधिहरूले प्रतिनिधिमूलक धारणा र सुझावहरू राख्नुभएको थियो।