स्वर्गद्वारी गुठी पीडितको मागप्रति माओवादी केन्द्रको ऐक्यवद्धता ।

काठमाडौं, २२ फागुन ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले ने.क.पा (माओवादी केन्द्र) लाई ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना सहित पुगेका स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनलाई आफ्ना माग सहितको ज्ञापनपत्र बुझाएको हो ।
संघर्ष समितिले बुझाएको ज्ञापन पत्र बुझ्दै ने.क.पा (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले स्वर्गद्वारी गुठी पीडितको माग मुद्दाका विषयमा पार्टी संवेदनशील रहेको बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा सो समस्या समाधानका लागि दुई बुँदे सहमति गरे पनि कार्यान्वयन गर्न नपाउँदै सरकारबाट बाहिरिनु परेकाले समस्या यथावत् रहेको उहाँको भनाई छ । पार्टी सरकारमा नरहेपनि पीडितको न्यायको लागि निरन्तर लागि पर्ने प्रतिबद्धता जाहेर गर्दै मुख्य सचिव पुनले स्वर्गद्वारी गुठी पीडितको संघर्षमा ऐक्यबद्धता जनाउनुभयो ।
कार्यक्रममा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको तर्फबाट वरिष्ठ उपाध्यक्ष बालकृष्ण चौधरी, सहसचिव तथा प्रवक्ता प्रविन चौधरी, सदस्यहरू रूपा चौधरी र सावित्री चौधरीले आफ्ना भनाइ राख्नुभएको थियो ।
३३ दिनदेखि काठमाडौं केन्द्रित संघर्ष गरिरहेका स्वर्गद्वारी गुठी पीडित किसानहरूले जोत-भोग गर्दै आएको जमिन मोहीको नाममा रैतानी हुने कानुनी व्यवस्था सहितको विधेयक संघीय संसदमा तत्काल पेश गर्न माग गरेका छन् । यस्तै विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्कासित मोहीको हक पुनर्स्थापित गर्न र किसानले बुझाउनु पर्ने रैतानी बापतको तिरो वडा मार्फत बुझाउने व्यवस्था गर्न संघर्ष समितिले माग गरेको छ ।
संघर्ष समितिले सबै ठूला दलका केन्द्रीय कार्यालयमा धर्ना सहित आफ्ना माग सम्बोधनका लागि सहयोग गर्न ज्ञापन पत्र बुझाउँदै आएका छन् । उनीहरूको माग प्रति सत्तारुढ दल र तिनका नेता तथा सांसदहरू अनुदार भएको बताएका पीडितहरूले माओवादी केन्द्रले पीडितहरुको समस्यालाई सडक र सदनबाट उठाउन अनुरोध गरेका छन् ।