संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

तीन हजार स्वयंसेवकको नेतृत्व गर्दै पार्टीका उपमहासचिव जनार्दन शर्मा अस्थायी आवास निर्माणमा

पार्टीका सबै कमिटी र जनवर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गर्ने निर्णय गरेको माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा तीन हजार ८७ जना स्वयंसेवक परिचालन गरेको हो।

रुकुम पश्चिम । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माण गर्न ने.क.पा. (माओवादी केन्द्र) रुकुम पश्चिमले तीन हजार बढी स्वयंसेवक परिचालन गरेको छ। पार्टीका सबै कमिटी र जनवर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गर्ने निर्णय गरेको माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका भूकम्प प्रभावित क्षेत्रमा तीन हजार ८७ जना स्वयंसेवक परिचालन गरेको हो। यस बाहेक जिल्ला बाहिरबाट पनि थप स्वयंसेवकहरू आएका छन् । 

मंगलबार (मंसिर १२) गतेदेखि जिल्लाका तीन वटा भूकम्प प्रभावित पालिका आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा अस्थायी आवास निर्माण अभियानको सुरुवात भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो। जिल्लामा पार्टीका केन्द्रीय उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा अस्थायी आवास निर्माण अभियान सुरु भएको हो। 

नेता शर्माले आजदेखि सानीभेरी गाउँपालिका वडा नं. ४ को मेघा बलिबाङबाट अस्थायी आवास निर्माण अभियान शुरु गरिएको बताउनु भयो। आफू तीन वटै पालिकामा खटिने भन्दै उहाँले पहिलो चरणमा आफू तीन–तीन दिनका दरले नौ दिन अस्थायी आवास निर्माण अभियानमा खटिने बताउनु भयो। आजबाट तीन दिन सानीभेरी गाउँपालिका, त्यसपछि आठबीसकोट नगरपालिका र चौरजहारी नगरपालिकामा अस्थायी आवास निर्माणमा खटिने शर्माको भनाइ छ। 

अस्थायी आवासका लागि काठको समस्या भएकोले भूकम्पले बस्न नमिल्ने भएका घरलाई भत्काएर खाली गर्ने र काठ, ढुङ्गा लगायतका सामग्री निकाल्ने कामबाट अस्थायी आवास निर्माणको अभियान थालिएको नेता शर्माको भनाइ छ। मौसम बदली भइरहेकोले छिटो भन्दा छिटो धेरै भन्दा धेरै आवास निर्माणको आवश्यकता रहेको बताउँदै शर्माले क्षति नभएका जिल्लाका सबै वडाबाट प्रति वडा कम्तीमा २० जना स्वयंसेवक माग गरिएको बताउनु भयो। 

प्रभावितको जग्गा भएको अवस्थामा सुरक्षित ठाउँको पहिचान गरी आवास निर्माण गरिने र जग्गा नभएको अवस्थामा भत्किएकै घरलाई हटाएर आवास निर्माण गरिने शर्माको भनाई छ। यो अभियानमा जोडिन उहाँले जिल्लास्थित राजनीतिक दल तथा जिल्ला बाहिरबाट आएका स्वयंसेवक टिमलाई समेत आग्रह गर्नुभयो। सानीभेरीमा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा टोली परिचालित छ। त्यहाँ प्युठानबाट अखिल क्रान्तिकारी र वाइसिएलको टोलीसमेत आएको छ।

नेता शर्माले कार्यकर्ताहरूलाई छिटोभन्दा छिटो धेरै अस्थायी आवास निर्माण गर्न निर्देशन दिनुभएको पार्टीका रुकुम पश्चिम संयोजक गोविन्द रोकाले बताउनु भयो। रोकाका अनुसार जिल्लाभरका सबै पाल हटाउने लक्ष्यका साथ अभियानको थालनी गरिएको छ। जिल्ला कमिटीले एक महिना भित्रमा अस्थायी आवासको व्यवस्थापन गर्ने निर्णय गरेकोले सोही अनुसार अस्थायी आवास निर्माणको अभियान थालिएको उहाँले बताउनु भयो। साथै अस्थायी आवासका लागि सरकारी राहत प्राप्त गर्ने लाभग्राही सूचीकृत गर्ने काममा पनि पार्टीले सहजीकरणको काम गरिरहेको उहाँको भनाई छ।