विश्वविद्यालयले युवा–विद्यार्थी स्वदेशमै बस्ने वातावरण निर्माण गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य रहेको बताउनुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ सभा–बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय युवा–विद्यार्थीको विदेश पलायनको सङ्ख्या वर्षेनी बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिनुपर्ने बताउनुभएको हो ।

“युवा–विद्यार्थी विदेश पलायन हुने कारणहरू पत्ता लगाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि समेत विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अतः २१औँ शताब्दीका युवा–विद्यार्थीको चाहना, आवश्यकता र प्राथमिकताहरू बुझेर सोही अनुसारका पाठ्यक्रम तयार गरी शैक्षिक कार्यक्रमहरू सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिन्छु ।”

पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि समेत विश्वविद्यालयहरूले विशेष भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतहरूको खोजीका पनि ध्यानकेन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

“अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन कि हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि ध्यानकेन्द्रित गर्नैपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस सन्दर्भमा सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँगको सहकार्यमा पहुँच विस्तारका लागि आइपर्ने बाधा–अड्चन र कानूनी एवम् नीतिगत समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ ।” उहाँले ऐनको समयाकुल परिमार्जनका लागि समेत सरकारबाट आवश्यक सहयोग प्रदान गर्ने विश्वास दिलाउनुभयो ।

उच्चशिक्षामा विकासको गतिलाई व्यापक, व्यावहारिक र जीवनोपयोगी बनाउँदै लैजान सुझाव दिँदै प्रधानमन्त्री प्रचण्डले जैविक विविधताको संरक्षण, जलवायु परिवर्तनको बढ्दो प्रभावलाई न्यूनीकरण गर्नका लागि सूक्ष्म खोज–अनुसन्धान, प्राकृतिक सम्पदा र परम्परागत ज्ञान–सीपको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धन र कृषिमा आधुनिकीकरण तथा यान्त्रिकरणका माध्यमबाट प्रदेशका साथै समग्र देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने जनशक्ति उत्पादनका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।