संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

कृष्णबहादुर महरा

उपाध्यक्ष

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कमरेड कृष्णबहादुर महरा पिता रविचन्द्र र माता समुद्रदेवीका कोखबाट वि.सं. २०१५ असारमा रोल्पा, लिवाङ–७ स्थित धारापानीमा निम्न वर्गीय किसान परिवारमा जन्मिनुभयो । उहाँले बालकल्याण मावि लिबाङ रोल्पाबाट प्रवेशिका परीक्षा उत्तीर्णपछि विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो ।
वि.सं. २०३५–०३६ को विद्यार्थी आन्दोलनमा सक्रिय रहनुभएका उहाँ २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि हुनहुन्थ्यो । वि.सं. २०३९ देखि २०४१ सम्म अनेरास्ववियुको आठौंँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु कोषाध्यक्ष र उपाध्यक्ष रहनुभयो । उहाँ २०४१ देखि २०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पाको मन्त्री र २०३६ देखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षक समेत हुनुहुन्थ्यो ।
वि.सं. २०४८ देखि नेकपा (मशाल) रोल्पा सेक्रेटरी तथा सोही वर्ष भएको निर्वाचनमा रोल्पा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो । वहाँ २०५० सालमा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता रहनुभयो । पार्टी संगठनमा उहाँ २०५१ मा नेकपा (माओवादी)को पश्चिमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, २०५३ सालमा केन्द्रीय सदस्य र २०५५ मा पोलिटब्यूरो सदस्य हुनुभयो । वि.सं. २०६१ मा नेकपा(माओवादी) पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएका महरा वि.सं. २०६२ मा स्थायी समिति सदस्य र २०६२ मा पार्टी सचिवालय सदस्य हुनभएको थियो ।
महान जनयुद्धकै क्रममा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक र २०६० मा तत्कालीन सरकारसँगको दोस्रो वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारी वहाँले निर्वाह गर्नुभयो । वि.सं. २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक समेत हुनुभयो । 
वि.सं. २०६४ चैतमा सम्पन्न संविधानसभा सदस्यको निर्वाचनबाट दाङ ३ बाट निर्वाचित महरा २०६५ भदौमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता हुनुभयो ।संविधान लेखनमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । प्रतिनिधि सभा निर्वाचन २०७३ मा वहाँ पुनः निर्वाचित भई सभामुखको भूमिकामा रहनुभयो । 
उहाँले उपप्रधानमन्त्रीसहित अर्थ, परराष्ट्र, गृह एवम् सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभयो । यसैगरी  अन्तरिम संविधान बाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य समेत हुनुहुन्थ्यो । 
उहाँले भारत, चीन, बंगलादेश, थाइल्याण्ड, जापान, प्रजग कोरिया, मलेसिया, सिंगापुर, हङकङ, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, अमेरिकालगायत मुलुक भ्रमण गर्नुभएको छ।