संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

वर्षमान पुन अनन्त

उपमहासचिव

वि.सं. २०२८ साल जेठ १८ गते रोल्पाको शिर माडी खोलाको किनारा माडीचौरमा मध्यम वर्गीय किसान परिवारमा बर्षमान पुनको जन्म भएको हो । पिता इर्खराम पुन र माता तिर्थमाली पुनको दोस्रो सन्तानको रुपमा जन्मिनु भएका पुनकोे जीवनसाथी ओनसरी घर्ती हुन् ।

२०४४ सालमा एलएलसी पास गुर्नभएको पुन थप शिक्षा आर्जन गर्न दाङ झर्नुभयो । २०४५ सालमा दाङको महेन्द्र बहुमुखी क्याम्पसमा आइएल भर्ना हुनुभयो । त्यसबेला लिवाङमा पुन अखिल छैठौंमा आवद्ध भइसक्नु भएको थियो । दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा पनि सक्रिय भूमिकामै रहनुभयो । बुर्जुवा शिक्षाको धरातलमा युद्धको खाका कोर्न गोलबद्ध लिबाङको टोली दाङ झर्यो र पुराना अनुहारमा रेखा शर्मा, शक्तिबहादुर बस्नेत पनि जोडिए ।

पुनले २०४८ सालमा प्रथम श्रेणीमा आइएल उर्तिण गर्नुभयो र, राजनीतिमा होमिनु भयो । पूर्णकालीन राजनीति गर्दै २०४९ सालमा नेपाल ल क्याम्पसमा विएल भर्ना हुनुभयो । नियमित कक्षा नलिए पनि उहाँले बिएलको परिक्षाभने दिनुभयो । जनयुद्ध सुरु भएपछि पढाइमा भने पूर्णता दिन सक्नुभएन ।

२०४८ सालमा निर्मल लामाको नेतृत्वमा राष्ट्रिय जनआन्दोलन भयो । रोल्पामा महरा संयोजक र पुन सहसंयोजक हुनुहुन्थ्यो । पुन सम्मिलित पार्टीले तत्कालीन काँग्रेस नेतृत्वको सरकारले गरेको दमनको प्रतिरोध गरेको थियो ।

रोल्पाका नेताले दमनको प्रतिवाद गर्न वाइसिएल (योङ कम्युनिष्ट लिग) बन्यो । वर्ग संघर्षको आन्दोलनमा सक्रिय पुनलाई २०४९ सालमा ३ वटा मुद्दा लाग्यो । उहाँले (डाँका मुद्दा)मा २ पटक ४८ दिनसम्म हिरासतको सजाय काट्नुभयो ।

माओवादीले जनयुद्धको घोषणा गरेपछि माओवादी रोल्पाको ९ सदस्यीय समितिमा पुन सदस्य हुनुहुन्थ्यो र जिल्ला लडाकु दस्ता उहाँकै नेतृत्वमा थियो । लडाकु, स्वयंसेवक र सुरक्षा दलका नाममा तीन अर्धसैन्य र सैन्य दस्ता थियो ।

माओवादीले ३ दस्ताको आडमा होलेरीमा आक्रमण गरेको थियो जसको कमाण्डर पुन हुनुहुन्थ्यो । उमेरमा कनिष्ट भए पनि उहाँले राजनीतिमा पाको जिम्मेवारी सम्हाल्दै आउनु भएका छन् । उहाँ कमाण्ड इन्चार्ज र डेपुटी कमाण्डरको भूमिका निर्वाह गर्नुभयो । 

पुनले रोल्पा, प्यूठान, रुकुम, सल्यान र जाजरकोटको इन्चार्जको जिम्मेवारी सम्हाल्नु भयो । २०५५ सालदेखि २०५९ जेठसम्म उहाँले पश्चिम कमाण्डको सैन्य मुख्यालयको जिम्मा पनि लिनुभयो ।

घर्तीगाउँ, घोराही ब्यारेक, डोल्पाको दुनै, अछामको मंगलसेन, जाजरकोटको लह, रुकुमको महत गाउँलगायतमा माओवादीले गरेको कारबाहीमा उहाँले कमिसार र कमाण्डर भूमिका निर्वाह गर्नुभयो ।

पुनलाई २०५९ सालमा पार्टीले पूर्व खटायो । पूर्वको कमाण्ड मोहन वैद्यको नेतृत्वमा थियो । पुन जनमुक्ति सेनाको डिभिजन कमाण्डर बन्नुभयो, पूर्वी कमाण्डको सैन्य कमाण्डर र मुख्यालय इन्चार्ज पनि ।

माओवादीले त्यहीबेला भोजपुर र तनहुँको बन्दीपुरमा आक्रमण गरेको थियो । काठमाडौंको थानकोट, दधीकोट र साँखुको आक्रमण योजना पुनकै थियो । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको पनौती लगायत आक्रमणमा आफँै सहभागी थिए ।
२०६२ सालको चुनाबाङ बैठकपछि पुन जनमुक्ति सेनाको डेपुटी कमाण्डर बने । र, काठमाडौं उपत्यका र वरिपरिका जिल्ला समेटेर बनाइएको विशेष कमाण्डको राजनीतिक इन्चार्जमा पुगे ।

रोल्पामा जनयुद्धको जग हालेका पुन दश वर्षपछि विशेष कमाण्डको इन्चार्ज बने । २०६२÷६३ सालको जनआन्दोलनमा सैन्य र राजनीतिक सन्तुलन मिलाउँदै काम गरे ।
पुनले आइएल पढ्दा २०४७ सालमा पार्टी सदस्यता लिएका थिए । २० वर्षको उमेरमै २०४८ सालमा नेकपा (एकता केन्द्र) को तत्कालीन ९ नम्बर क्षेत्रको संस्थापक एरिया सेक्रेटरी बने । २०४९ सालमा पार्टीको पहिलो रोल्पा जिल्ला सम्मेलन भयो ।

त्यतिबेला पुन जिल्ला समिति सदस्य बने । जुन रोल्पाको पहिलो निर्वाचित समिति थियो । दुई वर्षपछि २०५१ सालमा पार्टीको दोस्रो जिल्ला सम्मेलन भयो । पुन ३ सदस्यीय कार्यालय सदस्यमा परे ।

जनयुद्ध सुरुका केही महिना (२०५३ साल) मै पुन माओवादीको रोल्पा जिल्ला सचिव भए । लगत्तै रोल्पा र प्यूठानको संयुक्त जिल्ला समिति बन्यो । त्यसको पनि सचिव भए । उनी २६ वर्षमा (२०५५ साल) मा चौथो विस्तारित बैठकबाट माओवादीको केन्द्रीय सदस्य बने ।

चोथौ विस्तारित बैठकबाट ७ युवा केन्द्रीय समितिमा पुगे । माओवादी आन्दोलनलाई सशक्त बनाउन बल पुग्यो । र, युवालाई नेतृत्वमा पुग्ने बाटो पनि खुल्यो । २०५७ सालको दोस्रो राष्ट्रिय सम्मेलनले पुनलाई वैकल्पिक पोलिटब्यूरो सदस्य चुन्यो । र, २०५९ सालमा भारतको गोवामा बसेको बैठकबाट उनी पूर्ण पोलिटब्यूरो सदस्य भए ।

२०६२-६३ को शान्ति प्रक्रियापछि माओवादीमा शक्तिशाली १३ सदस्यीय सचिवालय बन्यो । पुन यसमा सदस्य भए । त्यसपछि माओवादी पार्टी सचिवालय तथा मुख्यालयमा उनी निरन्तर सदस्य छन् ।

एकीकृत माओवादीको हेटौडा महाधिवेशनपछि विराटनगरमा राष्ट्रिय सम्मेलन भयो । उक्त सम्मेलनबाट उनी सचिवमा निर्वाचित भए । माओवादी केन्द्रको कार्यालय सदस्य रहेका पुन प्रदेश ५ को इन्चार्ज समेत हुन् ।

पुन २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भए । २०६७ माघ २३ मा झलनाथ खनाल प्रधानमन्त्री बन्दा उनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी सम्हाले । तर, एमाले र माओवादीबीच सत्ता साझेदारीमा सन्तुलन नमिल्दा दुई महिनामै मन्त्रालय छोडे ।
२०६८ साल भदौ ५ गते बाबुराम भट्टराई प्रधानमन्त्री भए । त्यतिबेला उनले देशकै महत्त्वपूर्ण अर्थ मन्त्रालय हाँक्ने मौका पाए । उनी १८ महिना पदमा रहे ।
२०७० सालको संविधानसभा निर्वाचनमा पुन मोरङ क्षेत्र नम्बर ९ बाट उठे । तर, काँग्रेस उम्मेदवारसँग पराजित भए । संविधानसभामा नरहे पनि संविधान निर्माणमा पार्टीका तर्फबाट महत्वपूर्ण भूमिका पूरा गरे । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गृह–जिल्ला फर्केका पुनले रोल्पाबाट ४२ हजार ८४ मत ल्याएर जित हासिल गरे ।

हाल वहाँ उप महासचिवको जिम्मेवारिमा हुनुहुन्छ।