संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

गर्मी मौसममा भइरहेको बिपद्का घटनाबारे माओवादी केन्द्रद्वारा जारी प्रेस बिज्ञप्ती

हाम्रो पार्टी, विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गर्दछ

गर्मी र सुख्खापन बढेसँगै देशमा विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको छ, हजारौं नागरिक पीडित हुन पुगेका छन् । त्यसैगरी, देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च बृद्धिका कारण विशेषगरी तराईका जिल्लाहरूमा तातो हावाको लहर एवं लु चल्दा जीवनयापनमा भारी कठिनाइ उत्पन्न भइरहेको छ ।

हाम्रो पार्टी, विभिन्न विपद्का घटनाका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै पीडित एवं प्रभावित सबैप्रति गहिरो सहानुभूति प्रकट गर्दछ । हाम्रो पार्टी एवं भातृ संगठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौं । साथै, यस चुनौतीपूर्ण घडीमा पीडित परिवार तथा समुदायलाई उद्धार, राहत, उपचार तथा सुरक्षा जस्ता आधारभूत सेवा प्रदान गर्न राज्यका सबै निकायको गम्भीर ध्यानाकर्षण पनि गराउँछौँ ।

विपद्का घडीमा स्थानीय तह नै अग्रपङ्क्तिमा हुनुपर्ने भएकोले दमकल, एम्बुलेन्स, खाद्यान्न, औषधोपचार आदिको प्रबन्ध गरी पूर्वतयारी लाई चुस्त बनाउन पालिकाहरुलाई अपिल गर्दछौं । यी र यस्ता विपद्का जोखिमहरु कम गर्न, घटना भइहाले शीघ्र प्रतिकार्य गर्न आफ्ना पालिकाबासीलाई जनचेतनाका कार्यक्रममार्फत् घरेलु र स्थानीय उपायसहित तम्तयार राख्न पनि आह्वान गर्दछौं ।

त्यसैगरी, विपद्जन्य अवस्थामा गर्नु पर्ने उद्धार तथा राहतका लागि पालिकाहरुलाई सहयोग गर्न, सबल बनाउन तथा आवश्यक सामग्रीहरूको व्यवस्था गर्न प्रदेश तथा सङ्घीय सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने चाहन्छौं ।

यसका साथै, विपद् जोखिमहरूबारे जानकारी लिन, त्यस्ता विपद्का जोखिमहरू न्यूनीकरण गर्न तथा तिनको व्यवस्थापनका उपाहरुबारे सचेत रही आवश्यक परेका बेला अग्रसर हुन सबै नागरिकमा अपिल गर्दछौं ।