संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सवारी “लाइसेन्स”मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २४ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिष्टम देखिएका समस्या, जनस्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गर्नुभएको हो।

छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “सवारी चालक अनुमतिपत्रका बारे बाहिर गम्भीर प्रश्नहरू उठेका छन्। यसमा जनताले गम्भीर आलोचना, असन्तुष्टि, आक्रोश देखिन्छ। खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन्। लाइसेन्स जसरी वितरण हुनुपर्थ्यो, त्यस्तो भएको छैन। नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरता पूर्वक लिएको छु। यो समस्या तत्काल समाधान गर्नुस्।”

छलफलमा उहाँले लाइसेन्सको डिजिटल सिस्टमलाई व्यवस्थित गर्न समेत निर्देशन दिनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोही अनुरूप निरुपण गर्नुपर्छ। तसर्थ, जनस्तरमा उठेका जिज्ञासा र प्रश्नहरूको गम्भीरता पूर्वक समाधान गर्नुस्। भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नुस्।”

सो क्रममा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुन्छ, सो बारे ठोस सुझाव प्रस्तुत गर्न समेत निर्देशन दिनुभएको छ।

छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो।